Sunday, April 8, 2012

(हर्मीको शिक्षा डायरी) के सम्भब होला ? कमजोर जगले बलियो घर

-विकास ढकाल

लेख्नु नै छ भने अरुका बारेमा किन लेख्ने । त्यसैले आफ्नै स्कुलहरुका बारेमा केहि लेखौ झै लाग्यो । देखेका र भोगेका कुरा लेख्न मन लाग्छ अझ भनौ न सगसग लाग्छ । जात्ति पल्टिने र साखिल्ले हुने मन हुदा हुदै पनि सकिदो रहेनछ कतिपय अवस्थामा त । केहि वर्ष अघि लेखक खगेन्द्र सङगौलाको एउटा अन्र्तवार्ता पढको थिए जहाँ उनले भनेका थिए कनेर नलेख्नु लेख्ता नढाट्नु । आखिर त्यहि कुरो नै हो सत्य त । ढाटेर लेख्नुको मज्जा लिने सायदै कोहि होला । लेख्नेहरुले त लेख्लान् भजन र किर्तन पनि तर त्यो पढिदिने मान्छे पनि त हुनु पर्यो नि । अनि आत्म सन्तिुष्टिको पाटो आफ्नै ठाउमा छ । लेख्नको लागी मात्र लेखिदिने पढ्नको लागी पढिदिने र दिनहरु निखि्रसके सायद अबलाई ।

हो हाम्रा गामका सामुदायिक स्कूलहरुमा विद्यार्थी घट्दैछन् । यो क्रम घट्नुको सट्टा झन् झन् बढ्दो पो छ । खास गरि रेमिटेन्सले उकासिएको हाम्रो ग्रामिण अर्थतन्त्र र शहर प्रतिको बढ्दो आकर्षणले गर्दा गाममा प्राय मान्छे बस्न खोज्दैनन् हिजोआज । गाममा बस्ने र त्यहिका सामुदायिक विद्यालयहरुका नानीहरु पढाउनेहरुलाई त मान्छ नै गन्दैन हाम्रो समाज । हेर्नुस् त समयले मान्छेलाई कस्तो बनाइ दियो । हाम्रा समाजिक मूल्य र मान्यताहरु कस्तरी भत्कदै गए । त्यसैले आफ्ना लालाबाला लाई पनि आफू सँगै च्यापी हिड्छन् सबै सबै सके शहर नत्र भए पनि शहर उन्मुख ठाउँहरु तीर । नेपालका अन्य गाउँहरुको भन्दा केहि फरक छैन हर्मीको माहौल पनि अन्य मानेमा जस्तै यो मानेमा पनि ।

विद्यार्थी सख्या ओरालो लागे पनि हर्मीका केहि सामुदायिक विद्यालयहरुको स्तर भने उकालो लाग्ने क्रममा छ । तर केहि भने अझै जहाँको त्यहि नै छन् । तीनको विगत सँग तीनलाई नै तुलना गर्दा खेरि निस्कने निष्कर्ष त्यहि नै हो ।

जग बलियो नभइ घर बलियो हुन्न भन्ने कुरो थाहा नभएको हो कि थाहा भएर पनि नभएझै गरेका हुन् यहाँका स्कुलहरुले त्यो कुराको भेउ पाउन साहै गाह्रो भयो मलाई चै । तपाइलाई कस्तो लाग्छ मलाई चै ठाक्कै दाँतमा ढुङ्गा लागे झै लागेको कुरै यहि हो । आखिर तीनले त्यो कुरो बुझेको भए त किन पढाइको स्तर ध्वस्त त नभनि हालौ ध्वस्त ध्वस्तै हुन्थ्यो होला र बच्चाको त स्तर भएन भएन दुई ठूला माउ भनाउदा पनि के भाका होलान् खै मैले माउ भनेको चाहि निवारे र नवलपुर दुबै स्कुल है । बच्चा चाँहि अरु सप्पै प्राविहरु ।

बच्चालाई एकै छिन छाडेर माउका कुरा पहिले गरम् । यी बिचका केहि समानता र केहि असमानता कुरा गरम् । अनि केहि प्रगति र केहि विकृतिका कुरा । नवलपुर चार वर्ष अघि नै उच्च मावि बनेको हो भने चम्पावतीले चाहि आगामी शैक्षिक सत्र देखि उच्च मावि संचालन गर्न उच्च माध्यमिक शिक्षा परिषद्मा निवेदन हालेको छ । चम्पावतीले गत वर्ष आफ्नो स्वर्ण उत्साब मनायो भने नवलपुर आगामी वर्ष स्वर्ण उत्सब मनाउने तरखरमा छ ।

दाताहरुको सहयोगले चम्पावतीको बाहिरी मुहारमा भने निकै चमक आउन थालेको छ बिगत चार वर्ष यता । जहाँ यो बिचमा दुई नयाँ विद्यालय भवन बने पुराना भवनहरुमा पनि सिमेन्ट प्लास्टर र रङ रोगन भयो । खाने पानीका धारा विद्यालय र यसका वरी परि पनि बने । पढाइ चै अघि भने नि जग भन्दा पनि घर बलियो बनाउन खोजिन्छ यहाँ । प्राथमिक तहमा खासै चाख दिएर सृजनात्मक हिसाबले पाढाइन्न नानीहरुलाई । जस्तो शहरका नीजि स्कुलको रोग छ त्यस्तै रोग गाउँमा पनि भित्रिएको अनुभूति गर्न टाडा धाउनु परेन अबलाई । स्कुलका केहि शिक्षकहरु त् त्यस्तै भए भए तर त्यो भन्दा यहाँका अभिभावकहरु पनि धेरै विन्दास खाले छन् । नानीहरुहरु दिनदिनै स्कूल गएकै छन् पढकै छन् भन्ने भ्रम छ उनीहरुलाई । घरमा उचित पनि शैक्षिक वातावरण र निगरानी नपुग्दा नानीहरु गाइड बिहिन पर्यटक जस्ता बनेका छन् । जसलाई कहाँ जाने कता जाने केहि पत्तै हुदैन । घर र विद्याल दुबै ठाउँमा राम्रो वातावरण मिले न हो आखिर तीनले प्रगति गर्न सक्ने । दुबै तिर तीनलाई केयर नपग्दा ती अजकल्टा र कटमेरा बन्ने सभ्वाना प्रचुर रहन्छ ।

ग्रामीण भेगका अन्य विद्यालयको जस्तै विद्यार्थी अनुपातमा शिक्षक दरबन्दि छैन चम्पावतीमा पनि धेरै शिक्षकहरुलाई नीजि स्रोतमा पाल्नु परेको छ विद्यालयले आफैले स्रोत जुटाएर । यति हुदा हुदै पनि विद्यालय सुचारु रुपले नै अगाडी बढेको छ । अभावको भूमरीमा तड्पिएर अगाडी बढ्नुको पिडा द्रष्टालाई भन्दा ज्यादा भोक्तालाई नै थाहा होला यो मानेमा हामी बल बहादुर सरले धेरै गर्नु भएको छ भनेर भन्न सक्छौ । तर एक हातले मात्र ताली कहाँ बज्छ र एउटा हेडमास्टरले चाहदैमा सबै कुरा हुदैन पनि तर धेरै मानेमा हुन्छ पनि । के के हुन्छ र के के हुदैन भन्ने कुरा गर्न तिर र त्यसको लिस्ट तयार पार्न तिर त नलागम् अहिलेलाई तर लिक छाडेर कुदेको रेल नै त भएको छैन अहिले सम्म चम्पावतीको यात्रा जसोतसो गरेरै भए पनि । शुरु देखि भन्दै आएको छु नि अरे गुरु देब जग राम्रो बनाए घर आफै राम्रो हुन्छ । त्यसैले नानीहरुलाई आठ कक्षा पास गरे पछि मात्र रटाउने र पढाइमा खटाउने काम बन्द गर्नु पर्यो अबलाई एसएलसिको रिजल्टले मात्र विद्यार्थीको क्षमता र हैसियत प्रमाणित गर्ने दिन गए । नानीहरुले मुख्य कुरा सिक्ने जान्ने भनेको नै तल्लो तहमै हो तीनले आफ्नो दिमाग कल्पनामा डुबाउने र सृजनात्मक डुङ्गा खियाउने उमेर नै त्यहि हो । अलिकति विद्यार्थीहरुलाई सृजनात्मक किसिमले पढाउन थाल्नुस् र केहि केहि गुरु बा आमाले आफ्नो पुरातन पढाउने पारामा परिर्वत ल्याउनुस् त म ठोकुवा गर्छु केहि वर्ष भित्र परिणाम अर्के आउँछ । परिणाम वार्षिक परिक्षाले मात्र मापन हुदैन । अन्य धेरै विधि र तरिकाहरु छन् जाँचिने । हो पढाउने काम तपाइहरुको जागिर हो तर पनि कहिले काहि आफ्नो पेशा प्रति पनि उत्तरदायि हुने की आफ्नो पेशागत र सामाजिक उत्तरदायित्व आफैले अनुभूत नगरे सम्म परिवर्तन गर्न र गराउन गह्रो पर्छ । घडिको बाहिरि बनावट र रुप भन्दा पनि त्यसले दिने समय महत्व पूर्ण हुन्छ नरिवलको बाहिरी जट्टा होइन भित्रि गुदि मिठो हुन्छ । यो कुरा सबैले बुझिदिए सुनमा सुगन्ध हुने थियो की । अहिले लाई चम्पावतीको बखान यत्ति गरौ क्सारे मौका मिले छ भने र आवश्यक परेछ भने अझै गहिराइमा पुगौला तर अहिलेलाई भने यत्ति नै गरौ ।

निवारेबाट अब उक्लिउ पामको डाडो अर्थात नवलपुर तिर । मैले चम्पावतीलाई नियालेको र बुझेको केहि वर्षमा मात्र भएको छ मैले जे देखे जत्ति देखे त्यो कुरा सेयर गरे तपाईहरु सँग । मैले नजानेका र नबुझेका अन्य कुराहरु छन् भने तपाईहरु हामी बिचसेयर गर्न नहिच्किचाउ है । चम्पावतीलाई भर्खर भर्खर चिन्न सुरु गरिहाले पनि नवलपुरलाई जान्ने अवसर भने बालापन देखि नै पाएको हु मैले । राजनीति गर्नेहरु जहाँ पनि हुन्छन् हाम्रो देशमा अनि फेरि जे मा पनि राजनीति हुने गर्छ । ती सल्बलाउँछन् पनि कारण सहित र कारण बिना पनि राजनीति गर्न त_िम्सन्छन् कतिपय अवस्थामा । झन् स्कुल जस्तो सामुदायिक संस्थामा त तिनको आँखा नपर्ने कुरै भएन । नवलपुरमा पनि राजनीति धेरै हुन्थ्यो हुदैछ र हुनेछ अझ बढि यस्तै गतिमा अगाडि बढिरहने हो भने अझै पनि । त्यहाँको राजनीतिको कहिले भोक्ता र कहिले द्रष्टा भएको छु म पनि लगभग २ दशक अघि देखि निरन्तर । मैले पनि कक्षा पाँच पास गरेको स्कुल हो नवलपुर । त्यो ताका देशमा माओवादि विद्रोह भर्खर भर्खर शुरु हुन लागको थियो । हाम्रो गाममा र स्कुल दुबैमा काङग्रेस र कम्युनिष्ट पार्टिका समर्थकहरु बिच सधै नै झगडा परिरहन्थ्यो । गाममा भन्दा स्कुलमा अझ् बढि । शिक्षक विद्यार्थी र अभिभावक कोहि भन्दा कोहि कम थिएनन् । सबै सबै राजनितिमै रमाउँथे त्यो ताका । शिक्षक नियुक्ति सरुवा लगायतका अनेकौ कुरामा राजनीति जोडिएर आउथ्यो । स्कुलमा हुने झैझगडा हानाहान लुछालुछ र तछाड मछाडको सिकार चै हामी साना साना नानीहरु भनिन्छ नि साँडेको जुदाइ बाच्छाको मिचाई हो ठक्कै त्यस्तै थिए ती दिनहरु । स्कुल समयमा कम्पाउन्ड भित्रै वादविवाद बढ्दै जाँदा हामीहरु की त हातमा किताब कापि च्यापेर घर तिर कुलेलाम ठोक्थ्यौ डरले जिउ थरथर कमाउदै कि त भने हत्त न पत्त स्कुल माथिको डिस्कोमा गएर टुलुटलु हेरि बस्थ्यौ ती दृष्यहरु । त्यो बेला बाहिरी राजनीति हुन्थ्यो भने अहिले भित्रि राजनिति मौलाएको छ स्कूलहरुमा । हिजो आज सामुदायिक विद्यालयका बार्षिक उत्सब र अन्य कार्यक्रमहरु पनि कुनै राजनीतिक पार्टिको आम सभा जस्ता लाग्छन् र त्यहाँ शैक्षिक भन्दा पनि धेरै धेरै राजनैतिक दर्शन र वाणिहरु सुन्न पाइन्छ ।

त्यो हामीले भोगेको नवलपुर र अहिलेको नवलपुरमा धेरै अन्तर छ । जो तुलनै गर्न मिल्दैन र सकिदैन पनि । हामीले बेन्चमा बसेर पढ्न पाएको भनेको कक्षा चार र पाँच पढ्दा ताका मात्रै हो त्यो भन्दा अघिल्ला कक्षामा भने काठको ठेउको र मुढो जिन्दावाद । तीन कक्षाको अन्तिम परिक्षा सकिदा विद्यार्थीहरुमा एउटा छुट्टै उत्साह हुन्थ्यो अब अर्को कक्षामा त बेन्चमा बस्न पाइन्छ भन्ने लागेर । पाँच पास भए पछि भने म शहर तिर भासिए तर कहिले काहि जाँदा देखे अनुसार र त्यहि स्कूलमा पछि सम्म पढेका साथिहरुको भनाइ सापटि लिदा पनि त्यो अवस्थामा परिवर्तन आउन निकै वर्ष लाग्यो ।अहिले नवलपुरमा हामीहरुले टाढा टाढाबाट माटो कमेरो बोकि ल्याइ लिपेका भित्ताहरु त छैनन् भत्किसके सायद तर पनि स्मृतिको रिलमा ती दृष्यहरु घुमिरहन्छन् । र मनलाई त्यसै त्यसै नोष्टालजिक बनाइ दिन्छन् र पुयाइदिन्छन् ती स्वर्णिम दिनहरुमा । अहिलेको कुरा गर्दै थिए कता कता विगतमा पो बहकिन पुगेछु म त ।

एउटा पिडादायि कालखण्ड पार गरेर आएको नवलपुरले केहि वर्ष यता भने निकै गतिला दाताहरु भेटेको छ आफ्नो हार्डवेयर संरचना डेभलप गर्न । तर सफ्टवेयर भने अरुले फेरेर फेरिने चिज अवस्य नै होइन । जो आफैले फेर्नु पर्ने चिज हो र सजिलै सकिने चिज हो त्यसमा कमैको मात्र ध्यान छ । खालि भवन दाता र सहयोग भन्दैमा आफ्नो धोति फुस्केको पत्तै छैन हाम्रा मान्छेहरुलाई । कहिले काहि त आफैलाई पनि त हेरे हुने हो नि आफ्नै आँखाले सधै मुख मात्रै ताकेर त पुग्दैन नि हौ । अलिकति रचनात्मक र सृजनात्मक हिसाबले सोच्नु पर्ने बेला आइसकेको छ । तर आफैले आफैलाई आफ्नो आँखाले हेर्ने भन्दा आश्चार्य लाग्न सक्ला धेरैलाई तर यो सम्भब पनि छ धेरै हद सम्म र सम्भव छैन पनि ।

अघि नै भने नि हार्डवेयर त फेरिएको छ र त्यो फेरिनु पर्ने नै थियो र अझै पनि छ ।परिवर्तन सबै पक्षको हुनु पर्छ केहि पक्षको मात्र परिवर्तनले उपलब्धि हासिल गर्छु भन्नु मूर्खता हुन जान्छ । तर एउटा स्कुलको लागी आर्डवेयर नै सबै थोक चाहि हुदै होइन । हार्डवेयर फेरिए पनि कतिपय अपरेटिङ सिस्टम र सफ्टवेयर उहि नभए पनि उस्तै अझ कतिपय त दुरुस्तै र फोटो कपि नै छन् । पुस्तान्तरको कत्ति पनि मतलबै नराखि हस्तान्तरित हुदा ती मक्किएका शैलि र आनीबानीहरु हाँसो पनि लागेर आउँछ कहिले काहि त सफ्टवेयर र अपरेटिङ सिस्टममा जुन गतिमा परिवर्तन हुनु पर्ने हो त्यो नभएको कुरालाई सबैले आत्साथ गर्ने पर्छ । र नगर्नेहरुलाई समयले छलेर जान्छ । तर यसो भन्दैमा प्रयासहरु भएका छैनन् र सरोकारवालहरु कानमा तेल हालेर बसेका छन् भनेर चाहि बुझ्नु हुन्न हामीहरुले । काम त भएको छ तर यो भन्दा धेरै हुन सक्थ्यो र गर्न सकिन्थ्यो तर त्यसो हुन सकेन भन्ने कुरामा मात्र सबैको फरक मत हो ।

खास गरि २०६३ साल यता नवलपुरले आफ्नो मुहार फेर्न थालेको हो जुन क्रम निरन्तर जारि छ अहिले सम्मै पनि । नवलपुरमा दुई नयाँ भवनहरु बनेका छन् चिटिक्क परेका । अब फेरि अर्को भवन पनि बन्दै छ त्यहि ठाउँमा जसका लागी सरकारले १० लाख रुपैयाँ बजेट छुट्टाएको छ यसै वर्ष । पहिलेका भवनहरु रहेको ठाउँ भन्दा केहि तल पट्टि । बनेका हुन् यी नयाँ संरचानहरु । जहाँ हाल बिहान प्लस टुको पढाइ हुन्छ । पुराना भवनहरु रहेको ठाउँमा चै दश कक्षा सम्मको कक्षा संचालन हुन्छ । नवलपुरमा शिक्षा बाणिज्य शास्त्र र मानविकिको पढाइ हुन्छ । यस वर्षबाट नवलपुरमा मानविकि अन्र्तगत पत्रकारिता तथा आम संचार विषयको पढाई शुरु गरिएको छ सामुदायिक रेडियो हर्मी सँगको सहकार्यमा । शिक्षामा चाहि ऐच्छिक विज्ञान थप गरिएको छ ।
हर्मी आसपासका अन्य गाविसका उच्च माविको तुलनामा नलपुरमा विद्यार्थी सख्या धेरै छ । सायद यो क्षेत्रकै पुरानो प्लसटु भएर पनि होला । अन्त भन्दा यहाँ विद्यार्थी धेरै भएका । अनि पढाइ पनि ठिकठिकै भएर होला । तर यो सख्या कायम राखि राख्न अवश्य नै गुणस्तरको टेकोले टेवा दिनुको अर्को विकल्प छैन ।

उच्च मावि र मावि तहको पठन पाठनमा सन्तुष्ट हुने बाटाहरु धेरै छन् नवलपुरमा तर पनि तल्लो तहको पढाइ त धेरै हद सम्म ध्वस्त नै छ । यहाँ प्रावि तहमा पढाउने केहि मास्टर सापहरु अलिक विन्दास खाले छन् । एउटा बोरामा एउटा आलु कुहिदैमा सबै आलु कुहिन्छन् भन्ने पनि त हुन्न नि । त्यस्तै यहाँका सबै आलु कुहिएका छैनन् तर केहि केहि गाउने गरि नै कुहिएका छन् । जमाना फेरिएको छ अहिले तल्लो तहका केहि मास्टर छाडा छन् भने माथिल्लो तह अधिकाशं विद्यार्थी । विद्यालयको समग्र शैक्षिक स्तर उकासिदै गए पनि अनुसासनको स्तर भने टिठ लाग्दो नै छ । हर्मीका दुई माउ विद्यालयमा त प्रविधिको विकासले चमत्कारै गरेको छ गर्न नि । एउटा नमिठो विकृतिको साधन बन्दै छ मोबाइल फोन स्कूलहरुमा । ती स्कूलहरुमा हुने नमिठो विकृति र विसंगतिको साक्षि अरु कोहि खोज्न जानै पर्दैन म नै कतिपय घटनाहरुको प्रत्यक्षदर्षि हुँ अझ् भनौ साक्षि नै । कक्षा कोठामा एउटा शिक्षकले पढाइ रहदा पछाडि बस्ने विद्यार्थीले मिसकल मार्दा सम्म पनि शिक्षक र विद्यालय प्रसासन मौन बस्छ भने विद्यार्थीले उम्नाचो किन लगाउँदैन त अनि किन तीनको टाउकोमा गिर खेल्दैनन् त कुरकुरे बैसले उन्मत्त केटा केटिहरु । यो नियतिले कस्तो भविष्यको संकेत गर्ला पक्कै पनि सोचनिय छ कुरो । पहिले पहिले शिक्षक देखि विद्यार्थी डराउने अवस्था थियो तर अहिले भने विद्यार्थी देखि शिक्षक पो डराउने गरेका भेटिए । भन्दा र सुन्दा पनि लाज लागेर आउँछ तर के गर्नु गुम्स्याएर राख्न नसकिने त मोबाइलको फोन प्रयोगको मानेमा शिक्षक शिक्षिका पनि छाडा नै छन् । कक्षामा पढाइहरेको बेला फोन आएमा एक छिन बाहिर गएर गफिन तीलाई कत्ति पनि लाज लाग्दैन । तपाइलाई के लाग्छ स्कूलहरु औपचारिक शिक्षाका पाठशाला मात्र हुन् र मलाई त अनौपचारिक व्यवहारिक र नैतिकता सिक्ने पहिलो पाठशाला पनि स्कूलहरु त्यहि नै हुन् जस्तो लाग्छ । यो कुराको ख्याल सबैले गरिदिए अवस्थामा केहि सुधार आउने थियो कि अहिलेलाई आश चै गरौ गर चै नपरम् ।

हर्मीका हरेक सामुदायिक विद्यालयहरुलाई गत वर्ष मात्र समाजसेवि विजय देवकोटाले गोरखा फाउन्डेसन मार्फत कम्प्युटरहरु पठाएका छन् । माविलाई ५-५ वटा र प्राविलाई ३-३ वटाको दरले तर अधिकाशं स्कुलहरुमा ती कम्प्युटरहरु प्रयोगमा आउन सकेका छैनन् । धन्न नवलपुर भने कहिले काहि गोरखा फाउन्डेसनले दिएका ५ र आफूले किनेका अन्य १० गरि लगभग १५ कम्प्युटर मार्फत कम्प्युटर शिक्षा शुरु भएको छ तर गतिलो शिक्षकको अभाबमा कम्प्युटर शिक्षा थेउरीमा मात्र सिमित छ । दुई माउका कुरा पनि अहिलेलाई यहि बिट मारौ ।



यी त थिए माउहरुका कुरा अब लागौ बच्चाका कुरा तिर । अनि कुरो शुरु गरौ शिखर ज्योति अर्थात् शिख्रेबाट । शिख्रे एउटा यस्तो स्कुल बनेको छ जो विगत १ दशक यता स्थिर छ धेरै मानेमा यो न त तल झरेको छ नत माथि नै उक्लन सकेको छ । जस्तो हिजो त्यस्तै आज र यहि ताल हो भने सायद भोलि पनि । दरबन्दि यहाँ पनि पर्याप्त छैन नीजि स्रोतका शिक्षकको भरैमै चलेको यो स्कुलमा धेरै वर्ष पछि यस वर्ष दुई कोठे नयाँ भवन बनिरहेका छन् सरकारी लगानीमा । यो एक दशकमा यसको उपलब्धि भनेकै यहि दुई कोठे भवन बन्न पुग्यो । वरिपरिका अन्य स्कुलको अझै भनौ हर्मीकै अन्य स्कुलको हावाले शिख्रेलाई पनि नछोएको हैन । अरु भन्दा उ पनि के कम घोषणा त गरेको छ अङग्रजी माध्यममा पढाउने भन्ने तर के गर्नु सबै कुरा चाहेर मात्र कहाँ हुन्छन् र कनि कुथि गरेर अङगे्रजीमा पढाउनु भन्दा त नेपालीमै हाकिदाउ पढाए नै राम्रो हुने थियो कि नारायण पाण्डेका कुरा सुन्दा मैले बुझेको कुरो यत्ति हो शिख्रेको बारेमा जो यो स्कुलका प्रअ हुन् ।
केहि वर्ष मैले तयार पारेको शिख्रेको कथा पढ्न यो लिङकमा क्लिक गर्नुस्(http://ourharmi.blogspot.com/2009/03/blog-post_2113.html)



केहि वर्ष अघि मात्रै सरकारी मान्यता प्राप्त मदरसा दारुल हुदा मुस्लिम समुदायका वालबालिकाहरु प्रति लक्षित स्कुल हो । र यो बयापानीको माझ गाउँमा छ जहाँ अधिकाशं मुस्लिम समुदायको बसोबास छ । सरकारी स्वकृति पाएको केहि वर्षमै यसले विस्तारै प्रगतिको बाटो समात्न थालेको छ । सरकारी दरबन्दि खासै नभएको यस मदरसामा नीजि स्रोतमा राखिएका केहि स्थानिय शिक्षक शिक्षिका र सुनसरी तिरबाट ल्याइएका एक जना मौलनाले पढाउने गर्छन् । यो मदरसा गाविसबाट प्राप्त हुने वार्षिक अनुदान र स्थानिय मुस्लिम समुदायको सरसहयोगका भरमा चलिरहेको छ । गत वर्ष यो मदरसामा पनि दुइ कोठे नयाँ भवन बनेको छ । एउटा रोचक कुरा के भने प्राय मुस्लिम बालबालिकाहरु मात्र पढ्ने मदरसामा केहि गैर मुस्लिम बालबालिका पनि पढ्ने गर्छन् ।
केहि वर्ष मैले तयार पारेको मदरसाको कथा पढ्न यो लिङकमा क्लिक गर्नुस् (http://ourharmi.blogspot.com/2009/03/blog-post_2366.html)

विद्यार्थी संख्या स्वात्तै घटे पनि सरस्वति प्रावि तेसे्रमा पढन पाठन भने रोकिएको छैन । गत वर्ष एउटा नयाँ भवन यहाँ पनि बनेको छ दुई कोठे । शैक्षिक स्तर र वातावरण कस्तो होला उहि हो मिलाएर बुझ्नुस् तपाइ नै । न टानाटन विद्यार्थी नत पर्याप्त दरवन्दि धन्न धानिएको छ यसको स्वास ।

लक्ष्मी नारायण प्रावि घिमिरे गाउँ त एक एक दर्जन हाराहारि विद्यार्थीको भरमा मात्र चलेको दुइ वर्ष भैसकेको छ । विगत पाँच वर्ष यता यो एकदम स्कुल एकदमै स्थिर छ नत यहाँ कुनै भौतिक पूर्वाधार विकासको काम भएको छ नत उल्लेखनिय शैक्षिक गतिविधि नै छन् ।

उता सापकोटा गाउँमा रहेको अर्को सरस्वति प्राविले भने केहि प्रगतिको शुरुवात गरेको छ आफ्नै पहलमा । विगतमा द्धन्दको मारमा परेर कहिले चौतारो त कहिले दोबाटोमा संचालन भएको स्कुल अहिले आफ्नै भवनमा फर्कन पाएको छ । थप दुई भवन बनाएर जहाँ एक एक कोठा छन् । स्कुल पनि मज्जैले सिङगारिएको छ । गत वर्ष संचालक समिति र कार्यरत शिक्षक शिक्षिका बिच बढेको विवाद उत्कर्षमा पुगेर संकटमा परेको शैक्षिक गतिविधि अहिले निकै सुधि्रएको छ । सबै पुराना शिक्षक शिक्षिकाको अन्यत्र सरुवा गरिए पश्चात । यहाँ हुने पढाइलाई चाहि त्यति साह्रो खोट नै लगाइ हाल्नु पर्ने खासै धेरै ठाउँहरु छैनन् । जबकि लक्ष्मि नारायण र अर्को सरस्वतिमा लगाउने प्रसस्त ठाउँहरु छन् ।

अब बाँकि रह्रयो विज्ञान प्रावि भन्ज्याङको मात्र कुरो । हर्मीका अन्य प्राविहरुको तुलनामा पछिल्ला वर्षहरुमा सबै भन्दा धेरै प्रगति गर्ने स्कुल यहि नै हो । पहिले रहेको ठाउँबाट नयाँ ठाउँमा सरेर एक वर्ष दुखजिलो काटेर अहिले विद्यालय चार कोठे सुविधा सम्पन्न भवन बनाउन सफल भएको छ । त्यसका साथै पानीको राम्रो व्यवस्था सहितको आधुनिक शौचालय खानेपानी र बच्चाहरुलाई खेलाउन फलामे पिङ टिप्लेटि लगायतका भौतिक संरचना सम्म जोड्ने हैसियत राख्यो यो स्कुलले । शैक्षिक वातवरण र माहौल पनि ठिकै नै छ यहाँको । विद्यार्थी संख्या पनि अन्य प्राविको जस्तो दयनिय छैन । दुइ जना शैक्षिकको दरवन्दि भएको स्कुल स्थानिय समुदाय सँग सहकार्य गरि स्थानिय साधन स्रोतको परिचालन गरि अन्य चार जना नीजि स्रोतका शिक्षक शिक्षिका पालेर कक्षा पाँच सम्म संचालन भैराखेको छ । विद्यार्थी अनुसासन र सृजनात्मक पठनपाठनको मानेमा चाहि विज्ञान पनि एकै ड्याङको मूला हो ।

प्राथमिक तहमा अङग्रेजी माध्यममा पढाउने हर्मीका सबै स्कुलहरुको निर्णय सहि की गलत त्यो अलगै बहसको विषय हुन सक्ला । अगाडी नै भने झै कनि कुथि पढाउनु भन्दा नेपालीमै पढाको ठिक भन्ने नि होला । कुरो के चाहि सत्य हो भने भाषागत अवरोधले गर्दा नानीहरुको कल्पनाशिलता र सृजनात्मक क्षमतामा भने पक्कै पनि ह्रास आएको छ । हर्मी यो मानेमा आसपासका ठाउँहरु भन्दा भिन्न छ की यहाँ एउटा पनि नीजि स्कुल खुलेका छैनन् । र कसैले अवश्यकता महशुस पनि गरेको छैन अहिले सम्म । त्यो पक्कै पनि सकारात्मक कुरो हो । समुदायको ध्यान बोर्डिङ खोल्ने भन्दा पनि भएका आफ्नै स्कुललाई सुधार्ने तिर छ । त्यसैले पनि अलिले सम्म बोर्डिङ खुल्न पाएको छैन यहाँ । तर कति पय अवस्थामा चाहि चुनौति दिने कोहि नहुँदा ननिस्कदा निकै अल्छि र कामचलाउ पनि बनेका छन् हाम्रा स्कुलहरु । केहि गुरुबा आमा आफ्नो जागिर जोगाउन हाजिर गरे मात्रै पनि पुग्ने ठानिदिन्छन् । अनि अर्को कुरा स्थाइले भन्दा अस्थाइले मेहनत गरेर पढाएको पनि देखिएकै हो । स्थाइहरुको खुबै चरिफरि हुने गर्छ सामुदायिक स्कुलहरुमा । ती ठान्छन् र भन्दै हिड्छन् यसो कुरो परेको बेला मेरो जागिर कसले खान सक्छ । अरु कोहिले तीनको जागिर त खान नसक्ला तर पनि तीनकै नैतिकताले तीनलाई नै खाएको चै पक्कै छ । जागिर जानु मात्रै पनि त सबै थोक होइन नि नैतिकरुपमा जो कोहि पतन हुनु चाँहि सबै थोक गुमाउनु सरह हो चेतना भया ।

कुरो यत्ति मात्रै पनि होइन । जमाना कहाँबाट कहाँ पुगिसक्यो । हामी भने अझै ती पुरातन जमानामै छौ । जमना इलर्निङको छ तर अझै पनि हाम्रा स्कुलहरुमा पुस्तकालय सम्म छैन एक दुइमा छ तर तलिलो छैन । कतिपय गुरुबा आमाको शिक्षण बिधि उहि बिरालो बाँधे जस्तै छ । अनि सबै भन्दा धेरै गाउँले राजनीति स्कुलमा हुन्छ । विद्यार्थीका उस्रिङखलता चरम उत्कर्षमा छन् अनि कसरी पुरा होला खै हाम्रा स्कुल नमूना स्कुल बनेका सपनाहरु ।

2 comments:

  1. Bikash Babu,
    Namaste. You have an amazing ability to write about things. The are schools in this case and the situations around them. Your posting was very informative. I love reading your blogposting. Please keep up the good job. If and when your time permits please write about schools in Ampipal VDC too. I believe that schools in Amppipal VDC have almost similar situations. Yes, you correctly stated that improving software is more important than adding hardwares which is of less importance. Unless the quality of education in our primary and middle schools improves outmigration of children will continue which is sad. But it is good for the children who got he opportunity to go out for better educaiton. It is not a good news for the people and teachers who are left behind in the villages. Changing to English medium of teaching is a challenge in the beginning but it will get better with time when both teachers and students get used to it. Once it gests better, we may be able to reverse the trend of ourmigration of the students. Everyone concereded should think about these challenges and help to improve the situation from thier side. Please print the copy of this analysis paper and give a copy to the headmasters and the education administrators of the schools and may be to the local politicians. Thank you. Yours- Sharma Uncle from North Carolina, USA

    ReplyDelete
  2. मित्र बिकाश जी हर्मी को हाम्रा साना नानी हरुको उज्ज्वल भबिष्य रेखा हरु
    कोर्ने जग का रुप मा रहेका यी बिद्यालय हरु को खरो रुपमा यथार्थता
    चित्रण गरि दिनु भयको सधन्यबाद नदिइ रहन सक्दिन , साथै सम्पूर्ण समुदाय प्रति
    हाम्रा साना नानी हरु को भविष्य को लागि खुलेर सहयोग गरौ ,र ति हाम्रा बिद्यालय
    का गुरु हरु लागि ति साना नानी हरु को भविष्य प्रति ध्यान दिउ भन्न चाहन्छु .

    ReplyDelete