बेपत्ता पारीएका राजेन्द्र ढकाल११ बर्षमा हामीले कै गर्न सक्दैनौं? कपूरी क सिक्दै गरेको बच्चा फलामे ढोका पार गरेर इन्जिनीयर, डाक्टर, या बैज्ञानिक बन्न फाराम बोकेर क्याम्पसको ढोकामा पुग्छ, हिंडेर गए पनि नेपालको १४ अंचल ७५ जिल्ला ४००० गाबिस घुमेर सकिन्छ, साइकिल लिएर निस्कने हो भने सात ओटै महादेश घुमेर सकिन्छ। तर अफसोच, नयाँ नेपाल बनाउन कस्सिएका पुराना नेताहरु मान्छेको रगत र पसिना चुस्दै पुरानै ढ्याऊ गर्दै दिन काटिरहेछन। यिनिहरुलाई अरुको एक रत्ति चिन्ता छैन भन्ने कुरा त घाम जत्तिकई छर्लंग छ, तर पनि भन्नलाई आशै मार्न भने सकिंदो रहेनछ। एउटा राजनैतिक प्रतिबद्दता बोकेर दुनियालाई न्याय दिन भन्दै आफ्नो स्वार्थलाई तिलांजलि दिँदै कानुनचिको प्रमाणपत्र भित्तैमा छोडेर, पढाएर खाँदै आएको क्याम्पसको तनखा तं नखा भन्दै हिड्नुभएको मेरा दाई ११ बर्ष सम्म न सास, न लास न आशको कालो ओडारमा लापत्ता हुनुहुन्छ। कम्युनिष्टलाई जिउँदै खान्छु भन्ने गिरिजा फेरिएर प्रचण्डको कछाडको फेर समात्दै कुर्चिको सपना देख्दै भरे भोलीको घिड्घिडो बोकेर सेलाउँदै छन, तर उनैको सिकार बन्नू भएको मेरा दाइको कुनै अट्टो पत्तो छैन। मुद्दा हालें, ब्याक्तिगत चिठ्ठी लेखें, उनलाई मात्रै हैन उनी पछिका हरेक प्रधानमंत्रिलाई। देउबालाई लेखें, कृष्ण प्रसादलाई लेखें, ग्यानेंद्रलाई लेखें उनको दुबै हैसियतमा(राजा र मंत्राध्यक्ष) अनि प्रचण्डलाई लेखें। केही आश केही भरोसा बोकेका प्रचन्डले बेपत्ता पत्ता लगाउने आयोग बनाउने घोषणा त गरे। तर अरु केही गरेनन। किन हो कुन्नि, यी भारतमा जन्मिएका भनिएका नेपाल केही गर्न आएका भय पो गर्लान कि भन्नु, केही नगर्न आएकालाई चिठ्ठी लेख्न मन लागेना। यिनलाई बरा आफ्नै भाईहरुलाई जागीर खुवाउने हतार छ, मेरा दाई खोज्ने जांगर कहाँबाट पलाउनु?
हामी कस्तो देशका नागरिक हौं? कसले, कहाँ, कति बजे, कसरी समातेको सब्बै जानकारी अदालतले प्रमाणित गरेर सरकारलाइ बुझाई सक्दा पनि न्याय दिन नसक्ने यो नपुँसक सरकारलाई के भरोसाको लागि कर तिर्ने? ११ बर्ष त कुरियो अब के भनेर कुर्ने? यो सरकारलाई के गरेर त्यों काम गराउन सकिन्छ? यहाहरुको धारणा पाउन पाए आभारी हुने थिएं। मेरा दाजु राजेन्द्र ढकालको निम्ति न्यायको याचना सहित।
यही पुष २४ गते बेपत्ता भएको ११ बर्ष पुग्दै गरेको संध्यामा उहाँको सम्झनामा मेरो श्रद्दा सुमन, न्यायको याचना र यहांहरुको नैतिक सहयोग को अपेक्षा।
भबदीय
रबिन्द्र ढकाल
No comments:
Post a Comment