पौष ३
यस वर्षको गोरखा महोत्सवमा गोरखाको सबै जातजाति र गाउँको चिनारी गराउने झाँकी प्रदर्शन हुने भएको छ । जिल्लाको सबै गाउँको कला संस्कृति र भेषभुषालाई महोत्सव मार्फत उजागर गर्ने उद्देश्यले महोत्सव आयोजकले जिल्लाभित्र बसोवास गर्ने सबै जातिलाई आआफ्नो सास्कृतिक चिनारी सहित महोत्सवमा सहभागी हुने वातावरण मिलाइएको छ ।
पुष १० देखि १४ गतेसम्म गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुने सातौ गोरखा महोत्सवमा मगर जातिको कौरा चुट्का र घाटु गुरुङ जातिको स्याप्रे शेर्का र ठाडोभाका तामाङको लामा सेलुङ नेवारको टाकटुके र लाखेनाच देख्न सकिने शोभायात्रा झाँकी तथा र् याली उपसमितिका संयोजक काजीराम श्रेष्ठले जानकारी दिनुभएको छ । महोत्सवमा बाहुन समुदायको भजन कुमालको पाङदुरे नाच र शेर्पा जातिको शेर्पा नाचपनि अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।
महोत्सवको माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने मुख्य उद्देश्य भएकाले सकेसम्म गोरखाको सबै गाउँको कला संस्कृति समेट्ने प्रयास भइरहेको श्रेष्ठले बताउनुभयो । महोत्सवमा सबै जातजातिलाई समावेश गर्न आयोजकले आदिवासी जनजाति महासंघ लगायत आदिवासी जनजातिसंग संवद्ध बिभिन्न संघ संस्थासंगको छलफललाई पनि तिव्रता दिएको छ । जिल्लाका सबै गाविसको संस्कृति समावेश गराउन गाविस सचिवहरु मार्फत गाउँगाउँमा शन्देश पुर् याएको समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।
गोरखा उद्योग वाणिज्य संघ जिल्ला विकास समिति गोरखा नगरपालिकाको आयोजना र आदिवासी जनजाति जिल्ला समन्वय परिषद् र सबै गाविसको सहआयोजनामा हुने महोत्सवमा अघिल्लो महोत्सवमा भन्दा धेरै झाँकी समावेश हुने भएको छ । महोत्सवमा गोरखाका सबै गाउँको झल्को दिने संस्कृति प्रस्तुत हुने आयोजकको दावी छ ।
No comments:
Post a Comment