Sunday, March 29, 2009
यात्रा र अनुभूित
काजी मियाँ
बैशाख जेठ तिरको चर्को घाम हातमा एउटा सानो रुमाल लिएर निदारमा आएको पसिना पुछ्दै म बाटो काटी रहेको थिएँ । आज भन्दा चार महिना अगाडि मात्र म घरबाट देशको राजधानी शहर काठमाडौं गएको थिएँ । देशको राजनीतिक परिस्थिति र सामाजिक गतिविधि त्यसताका सहज नभएको कारणले मैले एउटा उद्देश्य बोकेर घर छोडेको थिएँ । देशमा एउटा जहानीया शासन लादिएको जस्तो भान भइरहेको थियो । गाउँमा रहेका युवा वर्गहरुको लागि रोजगारको अवसरहरु पाउन निकै गाह्रो भइरहेको थियो । म पनि गाउँ छोडेर राजधानी शहर छिर्न पाएँ भने केहि न केहि जीवन धान्ने र गुजारा चलाउने काम पाइन्छ कि भन्ने लागेको थियो । तर जीवन त्यती सहज र सोचे जस्तो किन हुन्थ्यो र देशको राजधानी शहर काठमाडौं त झनै पि_िल्सएको र भित्र भित्र गलिरहेको जस्तो महसुश गरि आज म गाउँमा नै फर्केर एउटा अभियान चलाउनु पर्छ भन्ने अठोटका साथ मनमा अनेकौ सपना र भावनाहरुलाई उचाल्दै गन्तब्य तिर लम्किरहेको थिएँ ।
चर्को घामको कारण पसिनाले शरीर भिजेको थियो । निकै समय सम्म एकोहोरो हिडिरहेकोले थकाइको महशुस गरि सितल छहारीमा बस्ने र थकाइमार्ने चाहनाले सानो रुखको छहारीमुनि केही बेर बसें । त्यहाँबाट दृष्टिले भ्याए सम्म हेर्दा कोही कतै आफ्नो उद्देश्य लिएर बाटो हिडिरहेका देखिन्थे त केही आफ्ना खेतहरुमा काम गरिहरेका देखिन्थे । मकै गोड्ने बेला भएकोले प्राय जसो मानिसहरु आफ्नो खेतमा मकै गोडिरहेका थिए । एक जना अधबैंसे मानिस पनि आफ्नो खेतमा मकै गोडिरहेका थिए । काम गर्दा गर्दै उनलाई थकाइ लाग्यो होला अनि खेतको डिलमा टुसुक्क बसे । खुईय गरेको जस्तो लाग्थ्यो । मैले त्यस बारेमा सोचे उसलाई देशमा के भइरहेको छ त्यो परिस्थितिसँग के वास्ता जुन सुकै सरकार भएपनि के मतलव जुन सुकै व्यवस्था आएपनि के चिन्ता । उनलाई खेत बारी गाई वस्तु र गोठालो आफ्नो दिन चर्यासँग वास्ता छ । उनी चाहन्छन् होला खेतमा धान झुलुन । मकै राम्रो होस् । गोरु राम्रा र बलिया होउन् । भैंसीले धेरै दूध दियोस् । देशको परिस्थिति र व्यवस्थाले उनलाई कुनै पनि परिर्वन ल्याउन सक्छ जस्तो लागेन । उनलाई के थाहा उनी लगायतका सम्पूर्ण नेपाली रैती बनेर बसेको । देशका युवाहरु वेरोजगारले छट्पटाएको सायद उनकै छोरा छोरी पनि पढाइ पछि भौतारिएलान् । त्यसबारेमा उनको सोच कसरी पुग्न सक्छ । हाम्रो देशमा उनी जस्ता कैयौ नेपाली छन् । उनीहरुमा चेतनाको अभाव खड्किएको छ । उनी जस्तै लाखौ नेपालीलाई एउटा चेतनाको मालामा बाँध्न सके भोलिको िपंढीले चैनको श्वास फेर्ने थियो जस्तो मलाई लाग्छ ।
त्यस्तै कैयौं विचारहरु गर्दै म त्यो ठाउँबाट उकालो लागें । मनमा नेपाल र नेपाली जनताले दासत्वको पाजाबाट कसरी छुटकारा पाउन सक्लान् भन्ने विषयमा धेरै सोचे र विचार गर्दै हिडिरहें हिडिरहें । त्यस पछिको यात्रामा तिनै दाई जस्ता हजारौं नेपालीहरुको जीवनको बारेमा मनमा अनेकौं भावनाहरु जाग्न थाले । धेरै पर पुगे पछि मलाई ज्यादै तिर्खा लाग्यो । पानीको खोजि गर्न थालें । बाटो छोडेर अलिकति बाँया लागे पछि एउटा वरको चौतारीको फेदमा सानो तिरतिरे धारो फेला पर् यो । मैले त्यसै तिरतिरे धारोमा हल्केलाले थाप्दै चिसो पानी खाएँ । मेरो तिर्खा मेटियो । केही बेर त्यही चौतारीमा बस्ने विचार गरी चौतारीको सितल छहारीमा बसें । केही बेर पछि एक जना बुढी एउटा बोतल लिएर पानी लिन आइन् । उनले तिरतिरे धारोमा त्यो बोतल थापि पानी लिएर गइन् । मैले सोचें त्यो तिरतिर धारोको पानी एकोहोरो बगिरहेको छ । त्यसको आफ्नो कुनै आकार छैन । जस्ले जुन आकारको भाँडो थापे पनि त्यसै आकारमा परिणत भएर आफ्नो आकार बनाउँछ । मैले हल्केला थापें हल्केलाको आकारमा बद्लियो ति बुढीले बोतल थापिन त्यसै बोतलको आकारमा बद्लियो । फेरि कोही आएर गाग्री थापे त्यसै आकारमा बदलिन्छ । मैले धेरै बेर सोचे अनि पहिलेका खेतमा काम गरिरहेका दाइलाई सम्झें । यो पानी नेपाली जनता जस्तै जुन व्यवस्था जुन सरकार अनि जुन राजनैतिक परिवर्तन भए पनि त्यसै अवस्थामा जीउने आदत बनिसकेको छ । निरिय भएर । कुनै आफ्नो आकार छैन । कुनै आफ्नो सोच छैन । कुनै आफ्नो सिद्धान्त छैन । कुनै आफ्नो अडान छैन । अनि कुनै विरोधको प्रतिसोध छैन । आखिर कहिले सम्म यस्तो किसिमको जीन्दगी जीउने हामी नेपाली जनताले ।
यस्तैमा अचानक मौसममा परिवर्तन आउन थाल्यो । अचानक हुरी बतास आउन लाग्यो । कालो बादल गडगडाएर आकाश ढाक्यो । मुलसधारे पानी वर्षन थाल्यो । हेर्दा हेर्दै बाढी आउन लाग्यो । नजिकैको खोलामा बाढी बढ्दै आयो । पानी सानो खोला नाघेर खेतबारीलाई काट्दै ढुङ्गा र मुडा पल्टाउँदै अनि पहिराहरु खसाल्दै गडगडाएर बग्न थाल्यो । त्यहाँको भौतिक संरचनानै परिवर्तन गराइदियो । एकछिनमा वर्षा रोकियो । अनि खोला पनि केहि कम हुँदै गयो । म पनि त्यहाँबाट गन्तव्य तिर लम्कँदै सोच्दै हिडें । एकै छिन अगाडि आफ्नो कुनै आकार लिन नसकेको त्यो तिरतिरे धाराको पानी जुन भाडामा थाप्यो त्यस्तै आकार बन्ने पानी पनि ठूलो परिमाणमा एक साथ बग्न पायो भने पहाडै पल्टाउन पनि पछि पर्ने रहेनछ । एकतामा ठूलो बल हुनेरहेछ । खेतमा काम गर्ने ति पहिलाका दाइहरु जस्ता लाखौं नेपाली जनता एक हुन सक्यो भने कुनै पनि सामान्तवादीको जरो सहित नै पल्टाउन सकिदो रहेछ । एक्लैले गर्न नसकिने जुन सुकै काम पनि समूहको बलले पुरै संरचना नै परिवर्तन गर्न सकिने रहेछ । त्यसैले हरेक घर गाउँ टोल र पुरा देशवासीले एक होस्टमा हैसे मिलाउन सकेमा देशको परिस्थिति र जस्तो सुकै जनता विरोधी व्यवस्थालाई पनि पल्टाउन सकिनेरहेछ भन्ने एउटा जोशीलो आँट र हिम्मत लिदैं म देशको सुनौलो भविष्यको कल्पना गर्दै त्यहाँबाट आफ्नो गन्तव्य तर्फ लागि रहें । लागि रहें ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment