Sunday, March 29, 2009
नारीको अवस्था र विकासको कल्पना
- सीता सापकोटा
कुनै पनि समाज एवं स्थानको विकासको निम्ति त्यस ठाउँको विकासका सम्भाव्य पूर्वाधारहरुलाई योजना बद्ध ढंगबाट कार्यन्वयन गर्दै जानुपर्छ । मानवीय समाजको सचेतना विना विकासका पूर्वाधारहरु न तय नै गर्न सकिन्छ न त कार्यान्वयन नै । कुनै पनि समाजमा लिङ्गीय हिसावले दुई जातका मानिसहरु बस्दछन् । ती हुन् नारी र पुरुष । हाम्रो देशको आधा भन्दा बढी धर्ती नारीले नै ओगटेका छन् । संख्यात्मक हिसावले सवल देखिएका हामी नारीको अझसम्म पनि समाजमा भने दोस्रो स्थान देखिन्छ ।
पुरातनवादी सोचले पिल्सीएको हाम्रो नेपाली समाजमा नारी उत्थानका निम्ती कुनै पनि ठोस कार्यक्रमहरु अझसम्म हुन सकेका छैनन् । युगान्तकारी परिवर्तनको नाममा ल्याइएको मुलुकी ऐनले होस् वा नयाँ शिक्षा योजनाले भित्र्याएको नियमले होस् २०३६ सालको जनमत संग्रहले होस् वा २०४६ सालको जनआन्दोलनले होस् नारीका निम्ती कुने महत्वपूर्ण निर्णय लिन सकेन । केवल नारीलाई सहानुभूति स्वरुप आरक्षणका नाममा फोस्रा नाराहरु धन्काइए साचारका ढोल बजाइए मात्र । त्यसैले त नेपाली समाजको विकासमा कुनै पनि पविर्तनको प्रवल सम्भाव्यता अझ पनि देखा पर्न सकेको छैन ।
वास्तवमा नारी सिर्जनाकी खानी हुन् । मानवताकी प्रसाद हुन् अनि सिङ्गो मानव समाजको विकासको पथ पदर्शक हुन् । यसर्थ नारीको स्थान उच्च राखेमा मात्र मानव समाजले विकासरुपि काँचुली फेर्न सक्छ । पौराणिक कथाहरुमा हामीले सुन्ने गरेका छौं की पुरुषको पुरुषार्थले थेग्न नसकेका बाधा र अड्चनहरुलाई नारीको सामथ्र्यले छेकेको । त्रेता युगकी नेपाली नारी सीताको आदर्शताले िसंगो मानव समाजलाई मानवीयताकै पाठ सिकाई विकास प्रेमी बन्न प्रेरित गरेको पाइन्छ । परापूर्वकालमा नारीको स्थान उच्च थियो । प्रकृतिको सुन्दर वातावरणमा हुर्केका स्वच्छ र उच्च मस्तिष्कले नारीको सही स्थान पत्ता लगाएको थियो । तर समय बित्दै जाने क्रममा पुरुषका मात्र अधिनमा समाज जकडिन थाल्यो । अज्ञानता र असहज अवस्थामा पुरुषको आधिपत्यरुपि ऐजेरु समाजमा मौलायो र प्रभुत्ववादी नीति नियमहरु बन्न थाले अनि विस्तारै महिला दोस्रो दर्जाकी नागरिक बन्न थालेको पाइन्छ । तर विश्व इतिहासलाई हेर्दा विश्वका कयौं देशहरुले विकासको फट्को मारिसकेका छन् । त्यहाँ नारीको स्थान पुरुषको सरह छ । युरोप र अमेरिका महादेशका नारी पुरुष समान दर्जामा छन् । उनीहरु एक अर्कामा हातेमालो गरी देश विकासमा जुटेको पाइन्छ । तर एशिया महादेशमा त्यसमा पनि हाम्रो देश नेपालमा भने नारीको अवस्था दयनीय नै छ ।
हाम्रो देशमा महिलामा शिक्षाको समान अवसर छैन । चेलीको अवोध अवस्थामा नै झारी समाएर कन्यादानको पौरख देखाउने हाम्रो पुरातनवादी सोचको समाजले नारी मुक्तिको पाठ कहिले सिक्ने हो शिक्षादिक्षाले सवल बनाउन सकेमा चेलीले आफ्नो भावी जिवनको निर्णय आफैं लिन सक्छे र जिम्मेवारीको बोध पनि गर्छे । रात दिन घरदैलोमा सिमित राखेर नारीलाई अज्ञानतामा डुबाउने हाम्रो समाजले नारीको महत्वलाई बुझ्न सकेको छैन ।
नारीको जीवनस्तर उकास्न सर्वप्रथम त प्राकृतिक रुपमा नारीले पाएका वरदान भनु या दण्ड जस्तै रजस्वला गर्वधारणा जस्ता कुराहरुमा विशेष ख्याल पुर् याउनु पर्ने हुन्छ । जस्तो कि पश्चिमी नेपालमा अझै पनि छाउपडी प्रथाको कारणले रजस्वला भएको अवस्थामा नारी माथि गरिएको गलत व्यवहारको विद्रोह गर्नुपर्ने देखिन्छ भने अर्को तिर छिटो विवाह गरिदिइ छिट्टै गर्वधारणा गर्नुपर्ने कुराले नारी पछि परेका कुरालाई पनि विस्रनु हुन्न । हरेक बाबु आमामा त्यो चेतना जगाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । जसले नारीको जिवनस्तर उकास्न प्रभाव पार्न सकोस् । छोरा सरहको शिक्षा छोरीलाई समेत दिएर हरेक अवसरमा छोराकै सरहको स्थान छोरीलाई दिनुपर्छ । हरेक काम गर्न नारी पनि सक्षम छे र चेतनाको कारणले सक्षम हुन्छे पनि ।
हामी नारीहरु घर व्यवहार साचालन गर्ने जिम्मेवार सदस्य हौं । यदि हामीमा शिक्षा एवं चेतनाको विकास हुने हो र समाजमा मौलाएको हामी प्रति हेर्ने र सोच्ने दृष्टिमा युगान्तकारी परिवर्तन आउने हो भने अवस्य पनि त्यो समाज सुन्दर बन्न सक्छ । सधैं पुरुषको हैकमी पन र पुरातनवादी सोंच नारीमाथि रहने हो भने त्यो समाजको विकास अपरिकल्पनीय हुनेछ ।
यसर्थ हाम्रो नेपाली समाजमा मौलाएको नारी प्रति हेर्ने पुरातनवादी सोंच निर्मूल गरी नारीमा ज्ञानरुपि शिक्षाको ज्योति छर्न सके अवश्य पनि हाम्रो अवस्था सुध्रन्छ । दुवै नरनारी होष्टेमा हैंसे गर्दे हातेमालो गरी अगाडि बढेमा कुनै पनि समाजको तथा सिङ्गो देशको विकास अवश्य पनि हुन धेरै समय लाग्दैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment