(बैशाख ३ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित)
डा. उल्फार्ड 'म मरेपछि पनि मेरो लासको खरानी लिएर मेरो एकजना आफन्त नेपाल आउनेछ र मैले सेवा गरेको गाउँ आँपपीपलमा मेरो खरानी सेलाउनेछ' एउटा विदेशीको मुखबाट पहिलोपटक यो वाक्य सुन्दा एकैछिन त म अक्क न बक्क परेँ । सामुदायिक रेडियो हर्मीका लागि गोरखा जिल्लाको एउटा दुर्गम गाउँ आँपपीपलमा रहेको आँपपीपल अस्पतालमा अन्तर्वार्ता लिइरहेका वेला जर्मन नागरिक डा. उल्फार्ड स्टार्कको नेपालमोह देखेर मलाई भिन्न अनुभूति भयो । उनको यो उद्गारले स्मरण गरायो पुरानो नेपाली स्वदेश गान ः नेपाली नेपालको माया छ कि छैन ? ६७ वर्षे डा. उल्फार्ड सात वर्षयता आँपपीपल गोरखामा छन् । जर्मनीमा लगभग तीन दशक हाड-जोर्नी विशेषज्ञका रूपमा काम गरेपछि आफ्नो अवकाशप्राप्त जीवन बिताउन नेपाल आएका उनी यहाँ ग्रामीण जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् । २०१५ सालमा सामान्य स्वास्थ्यकेन्द्रका रूपमा खुलेको आँपपीपल अस्पताललाई ०२५ मा युनाइटेड मिसन टु नेपालले सञ्चालनमा ल्याएको हो । यो अस्पताल गोरखा र आसपासका लमजुङ, तनहुँ, चितवन, मनाङलगायतका जिल्लामा निकै चर्चित अस्पताल हो । तर, देशमा चर्किएको द्वन्द्वलाई निहुँ बनाएर युनाइटेड मिसनले ०५८ मा अस्पताल सञ्चालनको जिम्मेवारीबाट हात झिकेपछि आँपपीपल एकाएक चर्चाको शिखरबाट ओरालो लाग्न पुग्यो । त्यसपछि अस्पताललाई कसले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा धेरै छलफल भए । अस्पताललाई सामुदायिक बनाउने कि सरकारी भन्ने कुरामा विवादका शृंखला भ\m याँगिदै गएपछि अचानक आँपपीपलको साख गिर्न पुगेको थियो पचासको दशकको लगभग-लगभग अन्त्यतिर । तर, मिसनले छाडेलगत्तै अभिभावकविहीन अवस्थामा चहलपहल शून्य बनेको आँपपीपल अस्पतालले ०६० मा एउटा पि्रय अभिभावक पायो डा. उल्फार्ड स्टार्कलाई । घिटिघिटी गरेर बाँचेको अस्पताललाई पुनर्जन्म दिएर यसको मुहार फेर्न डा. उल्फार्ड अहोरात्र खटिएपछि आँपपीपल अस्पताल अहिले अर्कै उचाइमा पुग्न सफल भएको छ । आँपपीपल अस्पतालमा उपचारका लागि गोरखा र आसपासका जिल्लाबाट आएका दैनिक सैयौँ बिरामीलेे सेवा लिन्छन् भने दैनिक दर्जनाँै शल्यक्रिया पनि हुने गरेको छ । सरकारी अस्पताल भए पनि एकमात्र सरकारी कर्मचारी कार्यरत रहेको आँपपीपल अस्पतालमा अस्पताल सञ्चालक समितिको सहयोगमा तीन दर्जन स्थानीय कर्मचारी व्यवस्था गरी हाल व्यवस्थित रूपमा अस्पताल सञ्चालन भइराखेको छ । ऐतिहासिक लिगलिगकोटको फेदैमा छ आँपपीपल अस्पताल, जहाँ जर्मन नागरिक डा. उल्फार्ड ग्रामीण जनताको जनजीवनसँग जोडिएर बसेका छन् । आजभन्दा ६७ वर्षअघि जर्मनीको सेक्सोनियामा जन्मिएका डा. उल्फार्ड चिकित्साशास्त्र पढेर सन् १९६९ देखि जर्मनीका थुप्रै ठाउँमा आफ्नो दक्षता प्रमाणित गरी ख्याति कमाए । पछि उनी जीवनमा एउटा बेग्लै अनुभूति सँगाल्न नेपाल आए । नेपालसँगको उनको चिनाजानी त्यति नौलो पनि थिएन । सन् १९९० तिरै उनी नेपाल आएका थिए, तर अहिलेकोे भन्दा बिल्कुल फरक सन्दर्भमा एक पर्यटकका रूपमा । टे्रकिङ गर्न नेपाली डाँडापाखामा पुग्दा त्यतिवेलै उनको मनमा लागिसकेको थियो- कुनै दिन यिनै गाउँहरूमा आएर अवकाशप्राप्त जीवन बिताउने छु । उनले नजिकबाट नियालेका रहेछन्- यहाँका जनतालाई पनि त्यतिवेलै । हो त्यही पर्यटक भएर नेपाल आउँदाको आकर्षण र नेपालमोहले डोर्यायो । यही माटोमा ०५८ मा डा. उल्फार्डलाई । नेपाल आउनेबित्तिकै उनी काठमाडांैमा रहेको काठमाडांै मोडेल अस्पताल छिरे । त्यत्तिकैमा प्लास्टिक सर्जन डा. शंकरमान राईले उनलाई एउटा शिविरमा भाग लिन आँपपीपल जाने निम्तो थमाए । सुरुमा केही दिनका लागि शिविर सञ्चालन गर्न आँपपीपल आइपुगेका उनलाई आँपपीपलले यसरी मोहनी लगायो कि उनी त्यो मोहजालबाट उम्किनै सकेनन् र उनले तत्कालै एउटा निर्णय लिए- नेपाल रहुन्जेल आँपपीपलमै बसेर सेवा गर्ने । यहाँ आएको केही समयमै उनी अभ्यस्त भइहाले यहाँको भूगोल र समाजसँग । अनि छोटो समयमै छाप छोड्न सके यस क्षेत्रका जनतामा ।
उनीसँग गपि"m दा लाग्छ- आँपपीपलको जति माया उनलाई अरू कसैको पनि छैन । जर्मनमा उनकी श्रीमती छन् । छोराछोरी छन् उनको अभिभावकत्वका भोका । तर, उनलाई परिवारभन्दा बढी आँपपीपलसँगको बसाइ पि्रय लाग्छ । डा. उल्फार्डको दिमाग सधँै आँपपीपलवरिपरि मात्र फन्को मार्छ । त्यसैले त उनले जर्मनमा समेत 'नेपाल मेड' नामक सामाजिक संस्था खोलेर त्यसमार्फत आँपपीपल अस्पतालको भौतिक पक्ष सुधारमा सहयोग जुटाइरहेका छन् । जर्मनमा इसाइ परिवार र माहोलमा हुर्किएका उनी यहाँ आएपछि बौद्धमार्गी बनेका छन् । उनी भन्छन्, 'मलाई बौद्धमार्गी बन्न पनि यही माटोले नै उत्पे्ररित गरेको हो ।' उता नजानेका धेरै कुरा यता आएर सिकेको बताउने डा. उल्फार्ड ठोकुवासाथ नेपाल नआएको भए आफ्नो जिन्दगी बेअर्थको हुन्थ्यो भन्छन् । बाँच्नलाई त सबै बाँचेका छन्, तर सार्थक जीवन बाँच्न निकै गाह्रो छ । उनी भन्छन्, 'तर, मैले यहाँ आएर सार्थक जीवन बाँच्न सिके र केही हदसम्म बाँच्ने प्रयासमा छु जस्तो पनि लाग्छ ।' उनी नेपालको प्रकृति र संस्कृतिलाई औधी माया गर्छन् । त्यसैले त डाक्टरी कामबाट फुर्सद मिलेको समय नेपाली गाउँ र वन-जंगल चहारेर उनले नेपाली-जर्मनी शब्दकोश र नेपाली चरासम्बन्धी पुस्तकको पाण्डुलिपि पनि तयार पारिसकेका छन् । उल्फार्डजस्तै हामी नेपालीजनको मनमा पनि सेवाको भावना अंकुराएदेखि देश माथि उठ्न पक्कै बेर लाग्ने थिएन । हामीले आ-आफूले विज्ञता कमाएको क्षेत्रमा वर्षमा कम्तीमा केही दिन सेवामा जुटेर आफ्नो माटोप्रतिको ऋणको भारा तिर्न सकेमा मात्रै पनि यहाँ धेरै काम हुनेछ । आफ्नो तोकिएको दरबन्दी कायम भएको ठाउँमा समेत नगएर काज मिलाएर सहरमै गुमनाम बसी पेसाप्रतिको उत्तरदायित्व पूरा गर्न नसकेका नेपाली डाक्टरहरूलाई छुनुपर्ने हो- डा. उल्फार्डको बौद्धिक झापडले । आँपपीपल अस्पतालमै पनि केही सरकारी डाक्टरको दरबन्दी छ, तर यहाँका जनतालाई सरकारी डाक्टर कुन चराको नाम हो भनेझैँ लाग्छ । सधैँभरि पैसा र सुविधाको पछाडि मात्रै दगुर्नेले सम्पन्न जीवन त बाँचेका होलान्, तर सार्थक जीवन बाँच्न सकेका छैनन् । कस्तो अचम्मको कुरा यहाँ अधिकांश काठमाडांै छाड्न नपरे हुन्थ्योजस्तो गर्छन्, तर डा. उल्फार्ड आँपपीपल छाड्न नपरे हुन्थ्योजस्तो गर्छन् । यही माटोमा अरुण बुढा, सन्दुक रुइत, शंकरमान राई जस्ता डाक्टरहरू पनि छन्, तर सबैको मन एकैकिसिमको कहाँ हुँदोरहेछ र ? निजी लगानीमा स्वदेश तथा विदेशमा पढेका डाक्टरहरू त गाउँ जान मानेन-मानेनन्, कैयौँ सरकारी कोटामा स्वदेश तथा विदेशमा छात्रवृत्ति पाएका र चिकित्साशास्त्र अध्ययन संस्थानलगायतका सरकारी क्याम्पसमा पढेकाले पनि देशले आफूहरूमाथि गरेको लगानीलाई बालुवामा हालिएको पानीसरह ठान्छन् । नेपालका ग्रामीण क्षेत्रमा डा. उल्फार्डजस्ता धेरै विदेशी र नेपाली नागरिक निःस्वार्थ भावनाले जनताको सेवामा जुटेका छन् । त्यस्ता सामाजिक सेवाको भावना बोकेका नागरिकबाट थप सेवा लिनका लागि राज्यले उनीहरूलाई उचित सम्मान र सहयोग पुर्याउनुपर्ने देखिन्छ । डा. उल्फार्डजस्ता समाजसेवीलाई गरिने सम्मान र सहयोगले अरू सैयौँ उल्फार्ड जन्माउन सहयोग पुग्नेछ अनि मात्र आँपपीपल जस्ता नेपालका धेरै गाउँले उल्फार्डको जस्तै सेवा पाउने छन् । जति धेरै नेपाली नागरिक उल्फार्डबाट प्रेरित बन्छन् नेपालले त्यति नै धेरै नेपालीको माया पाउनेछ ।
No comments:
Post a Comment