Saturday, December 12, 2009

नयाँ संविधानमा प्रदेशहरु विभाजनको आधारबारे गोरखाका नागरिकहरुको फरक मत

मंसिर २७
नयाँ संविधानमा प्रदेशहरु विभाजनको आधारबारे गोरखाका नागरिकहरुले फरक फरक मत राखेका छन् । मुलुक संघीयतामा जाँदा प्रदेश बिभाजनको आधार केलाइ मान्ने भन्ने विषयमा रेडियो कार्यक्रम नेपालीको अभियान नयाँ संविधानले गोरखा सदरमुकाममा गरेको छलफलका सहभागीहरुले जातीयताको आधारमा प्रदेश विभाजन गर्न नहुने बताएका छन् । प्रदेश बिभाजन गर्दा अल्पसंख्यकहरुको आवाज कुण्ठित हुने भन्दै उनीहरुले यसबारेमा बृहत बहस र छलफल नगरी निर्णय गर्न नहुने बताएका हुन् ।
कार्यक्रममा सहभागी नेपाली काँगे्रसका सुरेन्द्र पाण्डेले एकिकृत नेकपा माओवादीले शुरु गरेको गणराज्य घोषणाले राष्ट्रियता खतरामा परेको बताउनुभएको छ । उता एकिकृत नेकपा माओवादीका लेखबहादुर थापाले भने सबै जाती भाषा र धर्मको समान प्रतिनिधित्व हुने गरी प्रदेश बनाएमा जातीय द्धन्दको अवस्था नआउने दावी गनुृ्रभयो । उहाँले राज्यको मुलधारबाट वाहिर रहेका जातिहरुलाइृ अग्राधिकार दिनेगरी प्रदेश विभाजन गर्नपर्ने बताउनुभयो ।
सहभागीहरुले संघीयताको विषयमा पर्याप्त वहश नभएको भन्दै ठूला दलहरुले अघि सारेका अवधारणाबारे पनि ब्यापक छलफल पछि मात्रै टुङ्गोमा पुग्नु पर्ने बताएका छन् । गोरखा जिल्लालाई समेत समावेश गरि एकिकृत माओवादीले अघि सारेको तमुवान राज्यले यस क्षेत्रका सबै जातजातीको समान प्रतिनिधित्व नगरेको भन्दै केही सहभागीले गोरखा तनहु र लमजुङ्ग जिल्लाका केही भाग मिलाएर छुट्टै प्रदेश बनाउनुपर्ने धारणा राखेका छन् ।
गोरखा ऐतिहासिक धार्मिक र पर्यटकीय रुपमा पनि अगाडि रहेकाले यस्तै परिवेशका अन्य जिल्लाहरु मिलाएर प्रदेश निर्माण गर्दा उपयुक्त हुने उनीहरुको भनाई थियो रेडियो गोरखा ले जनाएको छ। काठमाडौको उज्यालो नेशनल नेटवर्क र रेडियो गोरखाको आयोजनमा सम्पन्न उक्त कार्यक्रम प्रदेश विभाजन गर्दा गोरखा र आसपासका क्षेत्रमा कसरी गर्नु उपयुक्त हुन्छ भन्ने विषयमा केन्द्रित थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दल नागरिक समाज निजी क्षेत्र आदिवासी जनजाति दलित महिला आदिले प्रदेश विभाजनमा आआफ्नो धारणा राख्नुभएको रेडियो गोरखाले जनाएको छ ।

No comments:

Post a Comment