Tuesday, July 28, 2009

पर्खी बसें आउला भनी: बल्ल पो आएछ

रबिन्द्र प्रसाद ढकाल
हाल जापान

हामी बिपन्नताको सागरमा हुर्किएर ऐले सम्पन्नाताको आहालमा पौडी खेल्दैछौं। यो साश्वत सत्य हो, सागर कञ्चन थियो, बहुत निश्चल थियो, अप्रदूषित थियो या प्रदूषणको जोहो थिएन। बादल हेर्दा कल्पना उड्थ्यो, चन्द्रमा देख्दा मन पुलकित हुन्थ्यो, तारा दौडंदा मानसपटलमा तरंग निस्कन्थ्यो। काफल खांदा, पौडी खेल्दा, ऐसेलु र कटुस बटुल्दा, जोले मकै र कुकुर डाइना जोर जाम गर्दा स्वर्गीय आनन्द सबार हुन्थ्यो। भूरा भेट्टाउनु, खांदी खांदी खांग्रे भर्नु , चरण खुलेको दिनमा भैंसिको बंगारा रगडाउनु मेरा नियमित नभएपनी कल्पनाका दिनचर्या थिए र आकस्मिक परिघटना। बिना उदेष्य समय बिन्यासमा यी बाहेक अरु खेल पनि थिए, छ्यार्र बूढी , टालाको भलिबल, ढुंगा लड़ाई, चट्टी, गुजर्गानाको फुटबल। अर्को एउटा अभिष्ट थियो बाल्यकालमा, जो मेरो दिमागले अच्छा देख्यो, त्यही बन्ने सपना बुनी हाल्ने, त्यों बेला सम्म मलाई ठौँ न ठहर बूढीको रहर भन्ने उखान कसैले सुनाएनन। यहीं क्रममा म मार्साब, डाक्टर, धाबक, बैज्ञानिक धेरै बनें, तर दुनियाको केही नदेखी। बिजुली मलाई चेलपार्क मसीको बट्टा नै काफी थियो , डिएस मलाई पर्बत चुरोटको बट्टा भएर आउन्थ्यो, फोटोकापी जहिले पनि सक्कल बमोजिम नक्कल ठीक छ भन्दै सपथमै आउंथ्यो, तर एउटा कुराले मलाई सानै देखि चिथारिरहेको थियो। बाले सधैंको दंशैंमा गफ गर्ने, आमाले हिंग बाँधेको टालो झै गर्ने, दाइले फ़ाट्ट फ़ुट्ट गफ हान्ने, त्यों गाड़ी कस्तो हुन्छ? मेरो बाल मष्तिस्क ३ बर्ष बाट ८ बर्ष सम्म यत्ति जान्न लालायित भएरै बित्यो। दुइटा कुरा एकै साथ गर्नु थियो, त्यों गाड़ी देख्नु र अनुभब गर्नु। मैले गतिलो भाका पाएं। ३ कक्षा सम्म पाइने निशुल्क किताब रोकिएपछि गोरखा बजार गएर किताब, कापी र तिनिहरुलाई राख्ने गाताको लागि चाहिनिज म्यागाजिन किन्ने सपना संगै म निदाउने भएँ। किताब त दाइको पनि थियो ४ कक्षाको लागि, तर मैले पहिलो रहर भएको हुनाले त्यों छुट पनि पाएं, नया किताब किन्ने र सल्लाहा भयो दाइको किताब बेच्ने। मलाई केही कुरा भन्नै पर्दैन्थ्यो, किताब नच्याती १ साल कटाउने ताकि अर्को साल त्यों किताब को सेट ३०-५० रुपियामा (५०% को हाराहारी) बिकोस, त्यों पछि सम्म रह्यो। अब मलाई कक्षामा पहिला भएको भन्दा पनि ४ कक्षामा गएको र नया किताब किन्न पाइने र तेसैको नाममा नया बस्तुको अनुभव गर्न पाउन्छु भन्ने मनोग्रंथिले मलाई गांज्नु गांज्यो। त्यों अघिल्लो रात मलाई के निद्रा लाग्थ्यो, दाई र आमालाई प्रश्न गरी गरी हैरान पारें र अलीकती काँचो आंखालाई लोजाएं। मैले एकै चोटी एकै दिन धेरै गर्नु थियो, ८ बर्षको बालक दाईहरु संगै दिन भरी हिड्नु थियो, दरौंदी सके सम्म अफैले तर्नु थियो, र सबभन्दा ठुलो एउटा परिक्षण गर्नु थियो, त्यों गाड़ी चडदा अरु जस्तैआन्द्रा भुंडी फर्काउने पो हो कि ? यी कुरा संगै दाईहरू सित गफिँदै गएको दिन म बांचुचेल सायदै भुल्छु होला। डांडगोब्रेको ओरालो, भुसुंडी फांटका धानबारी र दरौंदिको चिसो पानीले कठ्यांग्रिएको त्यों खुट्टा छेपेटार टेक्दा नटेक्दै तात्न थाल्यो। अनायास पारी पखेरामा एउटा सेतो सेतो बस्तु बित्तोड़ दौडिन थाल्यो। मेरो मुख बाट फ्याट्ट निस्कियो, तपाइहरुले भनेको घांस खाने भैंसी नभएर यो त भालू जस्तो पो छ त। तर त्यों बेला सम्म मैले न भालू देखेको थिएं, न गाडी।
बिस्तारै केहीउकालो हिंडे पछि गाड़ी चड़ने मेरो ५ बर्ष देखिको धोको पुरा हुँदै थियो, मलाई सबैले पुलुपुलू हेरे, सबैले साएद मेरो उद्बेग पढ्दै थिए, अथबा कति मिनेट्मा एसले मेरो दंशैको नया लुगा हेर्न नहुने बनाइदिन्छ भनेर सतर्क पोहुँदै थिए कि?! त्यसमा मलाई कुनै चासो थिएन। कहिले टाटा बस, कहिले रुखको उछिन पाछीनलाई झ्यालको क्यामेरा बाट कैद गर्न ब्यस्त थिएँ, न कि वाक्क ट्यार्र, जो अरु गर्दै थिए। अहिले टोयोटाको कोरोला गाड़ी आफनै किस्मतले किनेर आफैं चलाउन्दा पनि त्यति आनन्द आएन जति आनन्द त्यों टाटा बसको ११ किमी लामो यात्रामा आयो। तर अनायास आफै खेलेको चौरमा लम्पसार परेको त्यों भालू जस्तो जनाबर देख्दा कता कता मनको कुनामा झटका दिने रहेछ। साएद म त्यही प्यारो गाउंमा बसेकै भएपनि मेरो छोराले चार कक्षा पढ़न थाल्दा घर आगनमै नतड्पिकन बस देख्न पाउने चाहि रहेछ।
पर्खि बसें आउला भनी..............

No comments:

Post a Comment