Sunday, March 22, 2009

ग्रामीण महिलाको विद्यमान पछौटेपन हटाउन बुहारी शिक्षाको भूमिका

डा आइ पि ढकाल
भूमिकाः
पितृसतात्मक संरचनाले गर्दा नेपाली महिलाहरु पछाडि परेका छन् । महिलाहरुको काम भन्नासाथ घर भित्रको काम जस्तैः खाना पकाउने पानी बोक्ने घाँस काट्ने वस्तुभाउलाई कुँडो दिने भकारो सोर्ने कपडा धुने बच्चाहरुको हेरचाह गर्ने खाजा बनाउने आदि बुझिन्छ । महिलाहरुले गर्नुपर्ने पेशा धन नकमाउने खालको वा अनुत्पादक र उनीहरुको सामुदायिक वा संास्कृतिक भूमिका पनि पुरुषहरु भन्दा पनि कम हुन्छ । महिलाले धेरै समय घरायसी काममा नै बिताउनु पर्ने र पुरुषप्रति निर्भर हुनुपर्ने हुन्छ । धेरै झन्झटिलो दुःखपूर्ण नदेखिने अभिछिन्न काममा सुचारु रुपले लागि रहनुपर्ने ज्ञान र सीप बृद्धि नहुने खालका घरायसी काममा लाग्दा मान प्रतिष्ठा र इज्जत समेत नहुने हुँदा निर्णयकर्ताका रुपमा महिलाहरु पुरुषको तुलनामा निकै पछाडि परेका छन् । यस प्रकारको भूमिका मानिसले नै बनाएको हुँदा यसलाई परिवर्तन र सुधार गर्न आवश्यक छ । महिलालाई उत्पादनशील र सामुदायिक भूमिकातर्फ लैजानको लागि विद्यमान परम्परालाई परिवर्तन गरी उच्च शिक्षाको अवसर प्रदान गर्नु पर्दछ भन्ने केही व्यवहारिक विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
समाजमा भइरहेको परम्परालाई छोडी भिन्न कामहरु गर्न सजिलो छैन । यस प्रकारको कामलाई शुरुमा समाजले पचाउन सक्दैन । साथै धेरै टीकाटिप्पणीहरु र दोषारोपणहरु पनि आउँछ । यसप्रकारको चुनौतीको सामना गर्दै गएपछि मात्र एक प्रकारको अनुकूल वातावरणको सृजना हुन सक्छ । समाजमा परिवर्तन वा सुधार चाहनेले विकासका चरणहरुमा आउने उतारचढावलाई सहर्ष स्वीकार्नु पर्ने हुन्छ । किनकि इतिहास सजिलो काम गर्नेहरुको लागि देखिदैन तर असजिलो काम गर्नेहरुको मात्र लेखिन्छ । आधा हिस्सा ओगटेका महिलाहरु शिक्षित एवं सचेत भई निर्णयक तहसम्म नपुग्दा न घर न समाज न राष्ट्रकै विकास हुन सक्छ ।
शिक्षालाई नयाँ दिशा चाहिएको छ ः
शिक्षाले कुनै पनि व्यक्तिलाई बढी समर्थ र सुसंस्कृतबनाउँछ भन्ने सोचाई समाजमा रही आएको छ । राम्रो शिक्षाले नै उसको भविष्य सुन्दर र सुखमय हुन्छ । हाम्रो उच्च शिक्षा नीति जीवनपयोगी सीप सिकाउनु र साधारण विषयको शिक्षामा पनि खँँदिलो पार्न अझै सक्षम नभएको हो कि जस्तो देखिन्छ । नेपाल सरकारले राष्ट्रिय बजेटको १४ प्रतिशत एक वर्षमा झण्डै सात अरब खर्च गर्दा पनि अपेक्षित प्रतिफल पाइएको छैन । अहिलेको आवश्यकता भनेको गुणस्तर युक्त शिक्षा प्रदान गर्नु हो । यो कुरा कटु सत्य हो कि कुनै पनि व्यक्तिको घर अरुले सुधार गर्दैन कुनै पनि गाउँको विकास अरु कसैले पनि गर्दैन आफूले नै गर्नुपर्छ । होस्टेमा हैंसे अरुले गर्नेछन् । कुनै पनि शिक्षण संस्था संचालनमा स्थानीय जनताको सकृय आवश्यकता पर्दछ । गुणस्तरीयता कायम गर्ने सवालमा पनि सबैको प्रतिबद्धता आवश्यक पर्दछ । सबैलाई हित हुने काम गर्नाले हामी सबैको कल्याण हुने पक्का छ ।
अहिलेको समाज हरेक किसिमले यति धेरै अगाडि बढी सकेको छ कि त्यसको गतिलाई राम्ररी समातेर आत्मसात् गर्न नसक्ने हो भने समयको यो छालमा पुरिएर हराउन सकिन्छ । ज्ञानको सागरमा निरन्तर डुबुल्की मार्दै आफूलाई सक्षम र शिक्षित बनाउनु हरेक सचेत व्यक्तिको लागि अपरिहार्य आवश्यकता भएको छ ।
बुहारी शिक्षा स्थापनाको औचित्यः
वर्तमान समय भनेको प्रतिस्पर्धाको समय हो । गाउँ जिल्ला र राष्ट्रिय क्षेत्रमा आफूलाई स्थापित गराउन सानो भन्दा सानो देखि ठूलो क्षेत्रमा प्रतिस्पर्धामा उत्रिन सक्नु पर्दछ । त्यसको लागि योग्य बन्न हरेकलाई गुणात्मक शिक्षा आर्जनको लागि बाहिर जानु पर्ने बाध्यता थियो । पुरुषलाई गाउँ बाहिर गएर पढ्न सजिलो थियो । गाउँमा महिलाहरु घर छोडेर बाहिर जान नसक्ने आर्थिक समस्या र यातायातको असुविधाले पढ्न इच्छा राख्नेले पनि पढ्न नसक्ने अवस्था विद्यमान थियो । यही आवश्यकतालाई हृदयङ्गम गरी हर्मी नवलपुर उच्च मा।वि।माजनसहभागिताद्वारा बुहारी शिक्षा स्थापना गरिएको हो । स्थानीय दक्ष जनशक्तिद्वारा उच्च मा।वि।मा अध्ययन अध्यापन गर्ने कार्य सुचारु रुपले संचालन हुन थालेकोले बुहारीले विश्वासका साथ अध्ययन गरिराखेका छन् । गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने कुरालाई मनन गरी बुहारी शिक्षाको आवश्यकतालाई नवलपुर उच्च मा।वि। मा अघि बढी राखेको छ । अनुशासन स्वच्छ गुणात्मक शिक्षालाई निरन्तरता दिई बुहारीको चेतनास्तर बृद्धि गरी परम्परागत सोचाईबाट माथि उठी शिक्षाको नयाँ चिन्तन प्रस्तुत गर्नु आजको आवश्यकता हो । जुन सकि्रयता र जनसहभागिता बुहारी शिक्षाको स्थापनामा देखियो । त्यसलाई जीवनमुखी शिक्षा आर्जनमा लगाउन सकेमा आवश्यकता पूरा हुन सक्नेछ भन्ने कुरामा आशावादी हुन सकिन्छ ।
निष्कर्षः
नयाँ नेपाल निर्माणको लागि महिलाहरुको शसक्त भूमिकाको आवश्यकता पर्दछ । अवसर पाए महिलाहरु पुरुष सरह जुनसुकै काम पनि गर्न सक्छन् । उनीहरुसँग आफ्नै किसिमको जोश र जाँगर छ तर अशिक्षाको कारणबाट पछाडि परेका छन् । बुहारी शिक्षाको अवधारणाबाट ग्रामीण महिलाहरुले शिक्षित हुने अवसर पाउनु पर्दछ । सामाजिक आवश्यकताको परिपूर्ति शिक्षा कै माध्यमबाट हुन्छ । गाउँ र समाजको विकासको लागि शिक्षा अपरिहार्य हुन्छ । जनसहभागिता बिना सरकार एक्लैले शिक्षा प्रदान गर्न नसक्ने हुनाले व्यापक जनसहभागिता जुटाई हर्मी क्षेत्रलाई शैक्षिक नगरीका रुपमा विकास गर्नु आजको आवश्यकता हुन आउँछ ।
हर्मी क्षेत्रलाई शैक्षिक नगरी बनाउने दीर्घकालिन महत्वकांक्षी योजना मध्ये बुहारी शिक्षाको सुरुवातलाई गर्वका साथ लिन सकिन्छ । प्राकृतिक सम्पदा मात्रै हाम्रेा गोरखाका विषय होइनन् । हाम्रा पूर्खा र वर्तमानका अन्य नागरिक भन्दा योजना बनाउन र नवीनतम दृष्टिकोण राख्न एक कदम अगाडि बढी भविष्यका िपंढीलाई थप गौरब गर्न पाउने विषय दिन चाहन्छौं । शैक्षिक नगरीमा विकास हुनु अगाडि हर्मी क्षेत्र सहर हुनुपर्दछ । सहर बन्नको लागि आवश्यक पूर्वाधारको विकास हुनु जरुरी छ । विभिन्न महत्वपूर्ण शैक्षिक कार्यक्रमहरुको संभाव्यता वारे अध्ययन गरिनु पर्छ । शैक्षिक नगरीको कारण गुणस्तरीय कृषि उत्पादन हुन्छ र नागरिकहरुको आहार व्यवहारमा नै परिवर्तन आउँछ ।ििि

1 comment: