Thursday, August 15, 2013
हामी पनि निमेशको प्रयासबाट अलिकति भएपनि सिकेर केहि गर्ने कि हर्मीको लागी ?
सिकाइका अभियन्ता ( copied from Nepal Weekly Magazine )
लमजुङको भलायखर्कस्थित जनोदय उच्च माध्यमिक विद्यालयमा काठमाडौँको बूढानीलकण्ठ स्कुलदेखि अमेरिकामा पढ्ने विद्यार्थीको जमघट देखिन्छ। उनीहरू क्याम्प नै राखेर स्थानीय विद्यार्थीलाई नयाँ-नयाँ ज्ञान बाँडिरहेका छन्। कोही डेटा भिज्युलाइजेसन सिकाइरहेका छन् त कोही टेलिमेडिसिनको पूर्वाधार निर्माणमा खटिरहेका छन्। त्यहाँको इन्टरनेट क्याफेमा विद्यार्थी आएर किताबमा नभएका कुरा इन्टरनेटको सर्च इन्जिन गुगलमार्फत खोज्छन्।
सिक्ने र सिकाउने यो 'पिस इनोभेसन ल्याब'को परिवेश तयार पार्ने मुख्य योजनाकार हुन्, अमेरिकाको पेन्सलभेनियास्थित स्वाथमोर कलेजमा अर्थशास्त्रमा स्नातकका विद्यार्थी निमेश घिमिरे, २२। सीमित पूर्वाधार र स्रोतका बाबजुद घिमिरेले एक वर्षअघि सुरु गरेको यो कामले केही महिनाअघि मात्र अमेरिकाको प्रतिष्ठित डेभिस प्रोजेक्ट फर पिस अवार्ड पायो। पुरस्कारस्वरूप पाएको १० हजार अमेरिकी डलर र बि्रटिस काउन्सिल तथा स्वाथमोर फाउन्डेसनले दिएको जनही २ हजार ५ सय अमेरिकी डलर पनि घिमिरेले ल्याब बनाउनमै खर्च गरे।
सामान्यतः ल्याब भन्नाले प्राविधिक वा विज्ञानका पक्षसँग मात्र जोडिन्छ। तर, निमेशको यो कामले भने त्यसभन्दा फराकिलो दायरा समेट्छ। यो केही समयका लागि मात्र गरिने काम नभएकाले सुस्तरी तर प्रभावकारी ढंगबाट अगाडि बढ्नेमा निमेश ढुक्क छन्। भन्छन्, "यसको सफलतासँगै अन्य ठाउँमा समेत कसरी यस्ता ल्याब निर्माण हुन सक्छन् भन्ने निर्धारण हुने भएकाले यो काम निकै महत्त्वपूर्ण छ।"
ल्याब विद्यार्थीमा मात्र सीमित छैन। भलायाखर्कबाट नजिकको अस्पतालसम्म गएर सामान्य जाँच गराउन कम्तीमा एक हजार रुपियाँ खर्च हुन्छ। तर, यसै साता उनीहरूले सुरु गर्न लागेको टेलिमेडिसिन सेवाले त्यसलाई बढीमा १ सय ५० रुपियाँमा सम्भव गराउनेछ। जसका लागि निमेशको टिमले धुलिखेल अस्पताल, काठमाडौँ मोडल अस्पताल र न्युरो अस्पतालसँग सम्झौता गरसिकेको छ। उनीहरूले साताभर विभिन्न समय बाँडेर त्यहाँका बिरामीका लागि समय छुट्याउनेछन्। महावीर पुनसँग सहकार्य गरेर गाउँमा बेतारे इन्टरनेट सेवा पुर्याएका छन्, उनीहरूले।
तीनमहिने गर्मी छुट्टीमा निमेश र उनका साथीहरूले सघाए पनि बाँकी समय भने ल्याब स्थानीय जनशक्तिकै भरमा हुन्छ। राम्रो उब्जाउ हुने फाँट भएर पनि भयालखर्कका किसानहरूले फाइदा लिन नसकिरहेको अवस्थालाई हेरेर उनीहरूले कृषिमा समेत केही नयाँ सिकाउने योजना बुनिरहेका छन्। निमेश भन्छन्, "पोखरा, बेँसीसहरजस्ता नजिकका बजार हेर्दा त्यहाँ अन्य नगदेवालीमा हात हाल्दा फाइदा धेरै छ। तर, यहाँका मानिस त्यसका लागि जोखिम मोल्न तयार देखिँदैनन्।" अब ६० प्रतिशत जोखिम आफूले नै बेहोर्ने गरी कृषिमा हात हाल्ने निमेशको समूहको योजना छ।
त्यसो त निमेश बूढानीलकण्ठ स्कुलमा पढ्दादेखि नै केही साथीसँग मिलेर विभिन्न ठाउँ जाँदै गाउँका विद्यालयमा 'इनोभेसन क्याम्प' गर्दा रहेछन्। भन्छन्, "लमजुङको उक्त ल्याबमा अब एक खाले पूर्वाधार छ, उनीहरू आफ्ना योजना तथा काम त्यहीँबाट हामीलाई अमेरकिासम्म साट्न सक्छन्।" निमेशको बुझाइमा त्यसले उनीहरूको ज्ञानको दायरा मात्र फराकिलो पार्दैन, आत्मविश्वाससमेत उत्तिकै बढाउँछ।
सिक्नका लागि पाठ्यक्रम मात्र भएर पुग्दैन, पूर्वाधार र शिक्षण शैली पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। निमेश हाम्रो शिक्षामा यी तीनै कुराको अभाव देख्छन्। त्यसैले होला उनले बूढानीलकण्ठ स्कुलमा पढ्दाखेर िनै आफ्नो विद्यालयवरपरका दुई सरकारी विद्यालयमा बालमैत्री तरकिाबाट पढाउने अभ्यास गरेका रहेछन्। यसका लागि उनले आफ्नै विद्यालयबाट ४० जना साथीभाइको स्वयंसेवी दल खडा गरेका थिए। भन्छन्, "पाठ्यक्रम नबदलीकन पनि शिक्षण प्रभावकारी गर्न सकिन्छ भन्ने बुझाउन खोजेका थियौँ हामीले।"
साताको दुई दिन सरकारी स्कुलमा पुगेर प्राथमिक तहमा पढाउने त्यो अभियान झन्डै चार वर्षसम्म चल्यो। उनीहरू विद्यार्थीलाई पाठमा उल्लेखित ठाउँ वा व्यक्तिसम्मै पुर्याउँथे। राम्रा निजी बोर्डिङ् स्कुलमा पढेकालाई सरकारीमा लगेर अध्यापन गर्न लगाउँदा ज्ञान आदान-प्रदानको संस्कार विकास भएको ठान्छन् उनी। यही सिकाउने अभियानका कारण निमेशलाई गत साल हङ्कङ्मा मुख्यालय रहेको फाउन्डेसन फर युथ सोसल इन्टरप्रेनरसिपले एसिया प्रशान्त क्षेत्रका एक सय प्रतिबद्ध उद्यमीको सूचीमा राखेको थियो।
(link details - http://ekantipur.com/nepal/article/?id=5654)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment