इतिहास आफै बन्दैन । सपनाले इतिहास बनाउँछ । र सपना देख्ने र देखाउने काम मान्छेले गर्छ । मान्छेले देखेका सबै सपनाहरुले इतिहास बनाउँछन् भन्ने पनि छैन । सबै सपनाले इतिहासको स्वरुप लिदैनन् भन्दैमा सपना देख्न छोड्नु पनि त भएन नि । मान्छेले डोहोर्याउने सपनाले कुन विन्दुमा इतिहासहरु बनाउँछन् र भत्काउँछन् पत्तै हुदैन । हर्मीका स्प्निल मनहरुले आफ्ना आँखामा सजाएका सपनाको जगमा हर्मीमा पनि धेरै इतिहासहरु बनेका छन् । मैले आफू नजन्मदै बनेका केहि इतिहासका बारेमा सुनेर थाहा पाए भने आफू हुर्कदै गर्दा हर्मीमा बनेका केहि इतिहासको आफै साक्षि र सहयात्रि बने । हर्मीका अन्य खाले इतिहासको भन्दा पनि मैले यहाँ उजागर गर्न खोजेको चाँहि हर्मीको संचार इतिहासको पाटो हो । यो किन पनि महत्व पूर्ण छ भने हामी र हाम्रा अग्रजहरुले हर्मीमा थुप्रै संचार सपना देखेका थियौ र यो क्षण सम्म आइपुग्दा तीनै सपनाहरुले एउटा गर्विलो इतिहास बनाउन सफल भएका छौ । यो अर्थमा आफ्नै भूगोलमा मौलिक ज्ञान , सभ्यता , संस्कृति र पहिचानको जगमा टेकेर नयाँ र नौला संचार सपानाहरु फुलाएर इतिहास बनाउँन पाउँदा हामीलाई अति नै गर्व लाग्छ । यस लेख मार्फत हाम्रै माटोको सुगन्धमा फूलेका संचार सपनाहरुको नालीबेली प्रस्तुत गर्ने मेरो उदेश्य हो । यो छोटो लेखमा ठाउँ अभावले सम्पूर्ण संचार सपनाको फेहरिस्त प्रस्तुत गर्न त सकिएको छैन तर पनि हर्मीको संचार इतिहासको पाटो उजागर गर्न शुरु गरिएको यो पहिलो प्रयासले भोलिका दिनमा थप अध्ययन र अनुसन्धान गर्न मार्ग प्रसस्त गर्छ जस्तो लाग्छ ।
एक दशक लामो माओवादि विद्रोहका शिलशिलामा गाउँमा मन देखि मन सम्मका भावनात्मक सम्बन्धहरुको पुल चुडिएको थियो भने सामुहिकता र एकता कुन चराको नाम हो भन्ने जस्तो अवस्था सृजना भएको थियो । होस्टेमा हैसै गदै सहकार्यमा जुटेर सामाजिक कार्यहरु गर्ने हाम्रो पुरानो संस्कृति लोप हुने अवस्थामा पुगिसकेका थियो । द्धन्दको मारले गर्दा लगभग एक दशक सम्म देशका अन्य गाउँहरुमा झै हर्मीमा पनि सामाजिक गतिविधिहरु लगभग ठप्प नै थिए । राज्य र विद्रोही दुबै पक्षको दोहोरो चेपुवामा परेको हर्मीमा वल्लो घर देखि पल्लो घर सम्मकै दुरि पनि एकदमै टाडा लाग्थ्यो । सामाजिक भावना बोकेका सबै मनहरु सन्त्रस्त र सामाजिक संस्थाहरु चाँहि टुहुरा बन्न पुगेका थिए । हर्मीमा संगठित सामाजिक कार्यहरु गर्नु गराउनु लगभग असम्भब नै थियो । चालिसको दशकमा खुलेका हर्मीका प्राय सबै सामाजिक संस्थाहरुको अस्तित्व मेटिइसकेको अवस्था थियो । नयाँ सामाजिक संस्था जन्मने र जन्माउने आँट कसैले गर्न सक्ने अवस्था नै थिएन । हाम्रा अग्रजहरुको सक्रियतामा स्थापना भएका जनदिप पुस्तकालय , हर्मी विकास उपभोक्ता समिति , चौतारी युवा क्लब आदि सामुदायिक संस्थाहरु समयको यो खण्ड सम्म आइपुग्दा स्मृतिको रिलमा मात्रै घुमिरहन्थे । हर्मी ब्याट्रि सकिएर रोकिएको घडिको सुइ जस्तै जहाँको त्यहि थियो स्थिर स्थिर । आफ्नो चलायमान विगतलाई सम्झेर बस्नु शिवाय अरु कुनै विकल्प नै थिएन यो बिचमा ।
जनदिप,नव चौतारी र हर्मीको सेरोफेरो
यो प्रसङ्ग २०६३ साल जेठ महिनाको हो । प्रमाणपत्र तहको अन्तिम परिक्षा सकिएको थियो । त्यो पल पढाइबाट फुर्सद मिलेकाले म धेरै दिन नै गाउँमै वस्ने गरि हर्मी पुगेको थिए । देशमा भर्खरै मात्र जन आन्दोलन २ सकिएको थियो र त्यो सँगै सिंगो देशको राजनैतिक र सामाजिक माहौल बेग्लै बन्दै थियो । झन्डै एक दशक सम्म चलेको सरकार र माओवादि विद्राहीहरु बिचको द्धन्द अन्त्य भएर देश शान्ति प्रकियाको बाटोमा अगाडी बढ्ने क्रममा थियो । म हर्मी पुगेको केहि दिन अगाडीको एक साँझ युवा साथिहरुले गफगाफकै शिलशिलामा गाउँमा युवा क्लव स्थापना गरेर सामाजिक गतिविधिहरु संचालन गर्ने सोचाइका साथ एउटा युवा भेला आयोजना गरेर नव चौतारी युवा क्लव गठन गर्ने निर्णय गर्नु भएको रहेछ । म केहि दिन ढिलो पुगेकाले त्यो भेलामा सहभागी त हुन पाइन तर पनि केहि दिन पछि बसेको अर्को बैठक बाट नव चौतारी युवा क्लवमा जोडिन पुगे । क्लवको नाम के राख्ने भन्ने सवालमा साथिहरु बिच धेरै छलफल भएको रहेछ । तर्क वितर्क जति चले पनि एक दशक अगाडी नै हाम्रा अग्रजहरुले स्थापना गरेर बिचमा त्यसै गुमनाम बनेको चौतारी युवा क्वललाई ब्युताएर नव चौतारी युवा क्लव बनाउने प्रस्ताव पारित गरेर क्लवको नाम नव चौतारी राखिएको कुरा रामदाईबाट थाहा पाए । नव चौतारी युवा क्वल स्थापनार्थ रामचन्द्र ढकाल दाईले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो भने दामोदर ढकाल , सरोज भट्ट ,डिल बहादुर लगायतका साथिहरु शुरुवाति दिनहरुमा सक्रियता पूर्वक लाग्नु भएको थियो । त्यस पछि क्लवलाई अझ फराकिलो र वृहत बनाउन हर्मीका साथिहरु र हामी काठामाडौ लगायत देशका अन्य ठाउँमा वस्ने साथिहरु पनि यसका जोडियौ ।त्यसपछि कानुनि रुपमै क्वल दर्ता गरेर हामी हर्मीमा विविध सामाजिक गतिविधहरुमा जुट्यौ ।
यसरी हाम्रा अग्रजहरुले स्थापना गरेर गुमनाम बनेको चौतारी युवा क्ववलाई ब्युँताएर हामीले नव चौतारी युवा क्लव त खोल्यौ तर यति हुँदैमा हाम्रो चित्त बुझ्ने वाला थिएन । गाउँ घरमा चेतनाको विउ रोपेर सृजनशिल मनहरु उमार्न हाम्रा अग्रजहरुले २०४१ सालमा हर्मीमा जनदिप पुस्तकालय स्थापना गर्नु भएको थियो । हर्मीबाट जनदिप पुस्तकालयकै मुख पत्रको रुपमा २०४९ सालमा जनदिप साहित्यिक पत्रिकाको प्रकाशन आरभ्भ भएको रहेछ । जुन पत्रिकामा स्थानिय प्रतिभाहरुका सृजनात्मक लेखरचनाका साथै राष्ट्रिय स्तरका स्थापित साहित्यकार सम्मका साहित्यिक खुराकहरु प्रकाशित गरिएको जानकारी हामीले हुर्कदै गर्दा राज्यको आँखा छल्न लुकाएर राखिएको ठाउँमा फेला पारेका जनदिप पढेर थाहा पाएका थियौ । जनदिपको प्रकाशन शुरु भएको केहि वर्ष पछि देशमा माओवादि विद्रोह शुरु भयो अनि घरघरमा किताब राख्ने र पढ्नेहरु राज्यको आँखामा राजद्रोही ठहरिन थाले । घरमा त किताब राख्न नपाइने दिनहरुमा पुस्तकालयको अस्तित्व त झन् के रहन्थ्यो र ? अन्तत राज्यको दमनले गर्दा जनदिप पुस्तकालयमा भएका सबै किताबहरु खरानि भए र जनदिप पत्रिका पनि एक अङक भन्दा ज्यादा प्रकाशन हुन सकेन । एक अङक मात्रै निस्किए पनि जनदिपले हर्मीको साहित्यिक र संचारको इतिहास बनाउन महत्वपूर्ण भूमिका खेल्यो ।
जनदिपले हामीलाई वालापान देखि आँखाभरि सृजनात्मक सपना सजाउँन सिकाएको थियो । इतिहासलाई त्यसै मेटिन दिनुहुन्न भन्ने सँधैब लागी नै रहन्थ्यो । नव चौतारी युवा क्लव गठन गरेर चौतारी युवा क्ववको इतिहासलाई त हामीले मेटिन दिएका थिएनौ । हामी नव चौतारी युवा क्लव मार्फत अनेकन सामाजिक कामहरु गरिनै राखेका थियौ । म प्रमाणपत्र तहमा कहर होइन रहरले नै आम संचार तथा पत्रकारिताको विद्यार्थी थिए । त्यसैले मलाई आफूले क्याम्पसमा पढेका संचारका सिद्धान्त र सिपहरु आफ्नै गाउँमा अभ्यास गर्ने सोच आयो । र मैले साथिहरुलाई जनदिप भन्दा अलिक फरक खालको पत्रिका निकालौ न त भनेर प्रस्ताव गरे । ग्रामिण विकास पत्रकारिताको अभ्यास गर्ने मूल उदेश्य राखेर हर्मीको सेरोफेरो नामक मासिक पत्रिका निकाल्ने मेरो त्यो प्रस्तावलाई सबै साथिहरुले सहजै स्विकार गर्नु भयो । पत्रिका मार्फत ग्रामिण र विकास पत्रकारिताको अभ्यास गर्ने हाम्रो उदेश्य थियो । अनि मेरै नेतृत्व र सम्पादनमा हर्मीको सेरोफेरो मासिक खबर पत्रिका निकाल्ने निधो गयौ । यो पृष्ठभूमिमा हर्मीको सेरोफेरो पत्रिकाको प्रकाशन शुरु भयो । हर्मीको सेरोफेरो पत्रिकाको पहिलो अङक काठमाडौमा रहेका हर्मीवासीको वनभोज कार्यक्रम आयोजना गरि विमोचन गरियो । हर्मीको सेरोफेरो निकाल्ने क्रममा म सँगै राजु मियाँ , रुपेश ढकाल र दिवश ढकालले काठमाडौमा , रामचन्द्र ढकाल , दामोदर ढकाल र सरोज भट्ट लगायतका साथिहरुले हर्मीमा अनि सन्तोस मजाकोटि र सुरेस ढकालले चितवन र वुटवलमा बसेर सघाउनु भयो । त्यसमा पनि काजि मियाँ दाइले दिन रात नभनि गरिदिनु भएको प्रि प्रेसको काम र उहाँको योगदानको त हामी ज्यादै नै ऋणि छौ नै । यो क्रममा अन्य धेरै अग्रज र सहकर्मीहरुको साथ र सहयोग थियो सबैको नाम यहाँ उल्लेख गर्न असमर्थ भएकाले क्षमा प्रार्थि छु
यसरी युवा क्लबको स्थापना र पत्रिकाको प्रकाशनले मलाई धेरै वर्ष पछि हर्मी सँग नजिक्याउन सहयोग पुर्यायो । कम्तिमा महिनामा एक पटक पत्रिकाका लागी आवश्यक सामाग्री संकलन गर्न र महिना भरिका गाँउले गतिविधिको रिपोर्ट तयार पार्न हर्मी जानु पर्ने हुन थाल्यो । यी र यस्तै सामाजिक कामहरु मार्फत मैले हर्मीलाई हुर्कदै गर्दा नजिकबाट छाम्न र बुझ्न पाएँ ।
हर्मीको सेरोफेरो नियमित प्रकाशन भैराखेकैं थियो । पत्रकारिता भनेको राजनीतिको पनि पुरक हो भन्ने धारणा बनाएका हर्मी र आसपासका हाम्रा पाठकहरुले सेरोफेरो मार्फत भिन्न स्वाद राख्न पाएका थिए । खास गरि विकास निर्माण र सामाजिक गतिविधिमा केन्द्रित रहेर प्रकाशित हुने हर्मीको सेरोफेरोले एक थरी मान्छेको मनमा गहिरो र सकारात्मक छाप पारेको थियो भने अर्का थरि मान्छेहरुले राजनीतिक खुराक विनाको हर्मीको सेरोफेरो पत्रिकानै होइन सम्म पनि भन्न भ्याए । गाउँको सामाजिक गतिविधि र परिवर्तनको पक्षमा बहस पैरवि गर्ने कामले गाउँका थुप्रै विकृति विसंगतीहरुलाई बर्ढान सफल भएको थियो । खास गरि शहर केन्द्रित मलुधारका संचार माध्यमले वास्ता नगर्ने ग्रामीण समाजका ओझेलमा परेका सन्दर्भ, नियमित सामाजिक गतिविधि र परिवर्तनको बाटोमा हिड्न प्रेरित गराउने खुराकहरुमा विस्तारै सबैको मन लहसिल थाल्यो । आफ्ना कुरा आफ्नै भाषा र आफ्नै शैलिमा पढ्न पाउँदा गाउँलेको मुहारमा छाएको खुसिले हामीलाई अझ थप कामहरु गर्न उत्प्रेरणा मिलेको थियो । हिड्दा हिडदै बाटोमा तेर्सिएका काँडेतारहरु पन्छाउदै र चुनौतिहरुको सामना गर्दै सेरोफेरो दुई वर्ष सम्म नियमित प्रकाशन भयो । दुई वर्षे यात्रा पार गर्ने लाग्दा हाम्रो समाजमा वेग्लै धारणाको विकास भयो र हामीले आफ्नो उदेश्यबाट विमुख हुनु भन्दा पत्रिकाको प्रकाशन नै स्थगित गर्ने निधो गयौ । यो बेला स्थगित भएको हर्मीको सेरोफेरोको प्रकाशन अहिले सम्म पुन शुरु हुन सकेको छैन तर हामी दृढ छौ भविष्यमा स्वरुप फेरिए पनि हर्मीको सेरोफेरोको इतिहासले निरन्तरता पाउँने छ । त्यस लगत्तै मैले नयाँ प्रविधिको साहराले हर्मीलाई बाहिरी दुनियाँ सँग चिनाउन र हर्मीका गतिविधिहरु नियमित रुपमा ब्लग मार्फत हर्मेली मनहरु समक्ष पुयाउन आवरहर्मीourharmi.blogspot.com ब्लगको शुरुवात गरे । र यो ब्लग अहिले सम्म पनि संचालनमै छ ।
यसरी भयो रेडियो सपनाको बिजारोपण
सेरोफेरो त हाम्रो एउटा सानो प्रयास मात्रै थियो । यो गोरेटोबाट शुरुभएको यात्रालाई कसरी राजमार्ग सम्म पुर्याउने भन्ने चिन्ता सधैं नै लागि रहन्थ्यो । यहि क्रममा हामी हरेक पटक छलफलमा जुट्दा पत्रिकाबाट शुरु भएको यात्रालाई विस्तार गर्दै क्रमश रेडियो सम्म पु¥याउने भन्ने बारेमा पनि बहस गथ्र्यो । हाम्रो मनमा अङकुराएको रेडियोको सपनालाई अगाडि बढाउन त्यो बेला नत हामी सँग रेडियो बारेको पर्याप्त ज्ञान नै थियो न त हामीले बाहिर त्यो कुरा गर्दै हिड्दा कसैले पत्याउन सक्ने अवस्था नै । त्यहि कारणले गर्दा हामीले रेडियो भन्दा पहिले अडियो टावर संचालन गर्ने सोच बनायौं किनकी हामीले देशका थुप्रै गाउँहरुमा अडियो टावर संचालनमा आएको र त्यसले ग्रामीण बस्तीमा स्थानिय रेडियोको काम गरिराखेका सामाचारहरु पढेका र सुनेका थियौ । हामीले अडियो टावर संचालन गर्न सबै साथीहरु जम्मा पारेर त्यसलाई आवश्यक पर्ने भौतिक सामग्री र त्यस मार्फत प्रशारण गर्न सकिने कार्यक्रमका अवधारणा पनि बतायौ । अडियो टावर संचालन गर्न ग्रामीण अभिव्यक्ति संचार केन्द्र नामक संचार संस्था दर्ता गर्ने गरि विधान पनि बन्यो र हामीले दर्ता नगर्दै संस्थाको प्रारम्भीक उद्देश्य र अवधारणा समेटिएको ब्रुसर पनि बनायौं । तर हुँदै जाँदा हामी त्यो सोच पालेका अधिकांश युवाहरु काठमाडौ लगायतका शहरी क्षेत्रमा बस्ने र गाउँमा अडियो टावर संचालन गर्न आवश्यक जनशक्ति नभएका कारण त्यो योजनालाई पछि सार्ने निधो ग¥यौ । यहि बिचमा त्यसै संचार केन्द्र मार्फत सखा सखी नामको साहित्यिक लघु पत्रिका निकालेर दशैको अवसरमा हर्मीमा सष्टा र सृजना नामको साहित्यिक कार्यक्रम आयोजना गरि विमोचन पनि गरायौ । तर आर्थिक अभावका कारण त्यो सखा सखी साहित्यिक लघु पत्रिकालाई निरन्तरता दिन भने सकिएन ।
यो विचमा अडियो टावर भन्दा पनि जनतालाई रेडियोको अवाश्यकता र महत्ववोध गराउन रेडियो कै बारेमा ज्यादा बहस गर्ने काम भयो । यो बेला सम्म आइपुग्दा हर्मीमा योजनावद्ध विकास निर्माणका गतिविधि संचालन गर्न दश वर्षे गुरु योजना बनाएर अगाडि बस्ने कुरा प्रारम्भ भएको थियो । हाम्रा अग्रजहरुको त्यो नवितम्. र सार्थक अवधारणा र त्यसको कार्यन्वयन अनि प्रचार प्रसार लगायतका काममा युवाहरुको पनि होस्टेमा हैसे थियो नै । थप्ुरै छलफलका श्रृखलाहरु चलिसके पछि निकालिएको निचोडका आधारमा हर्मीमा योजनबद्ध विकासको ढोका खुल्यो । योजनाहरु बने र प्राथमिकताको आधारमा कार्यन्वयन गर्दै जाने निधो भयो । हर्मीको योजनाबद्ध विकासको गुरुयोजनाको खाकामा संचार उपशिर्षक अन्र्तगत सामुदायिक रेडियो स्थापना गर्ने भन्ने योजना पनि हामीले समावेश गर्न लगायौ । हर्मीको योजनाबद्ध विकासको गुरु योजना अन्र्तगत नै महेन्द्र लीला मा विलाई उच्च मा.वि. बनाउने काम भयो उच्च मा.वि. स्थापना गरिए पछि २०६५ सालमा प्रकाशनमा आएको विद्यालयको स्मारिकामा मेरा बुबा (जनार्दन ढकाल)ले तयार पार्नु भएको यसरी हुन्छ हर्मीमा उज्यालो शिर्षकको लेख मार्फत पहिलो पटक हर्मीमा सामुदायीक रेडियो स्थापना गर्ने भन्ने योजना औपचारिक रुपमा सतहमा ल्याउनु भएको थियो ।
पशुपतिको जात्रा सिद्राको ब्यापार
हर्मीमा माथि उल्लेखित कामहरु जारि भैराखेका बखत म जेभियर इन्टरनेसलन कलेजमा स्नातक तहमा पढ्थे । प्रणामपत्र तहमा झै स्नातक तहमा पनि म आम संचार विषयकै विद्यार्थि थिए । आम संचार विषय प्रत्यक्ष अभ्यास र प्रयोगात्मक हुने भएकाले एक दिन विषय शिक्षक प्रज्वल चापागाई सरले कक्षामा सबैलाई आ–आफ्नो रोजाई अनुरुपको प्राक्टिकल गर्न अवधारणा पेश गर्न भन्नु भयो । सरले अह्राएको भोलि पल्टैं मैले मकवनपुरको पालुङमा रहेको सामुदायिक रेडियो पालुङले स्थानिय समुदायमा पारेको प्रभावका बारेमा वृतचित्र बनाउने अवधारण सुनाए । किनकी आफ्नो मनमा रेडियोको भित्रि तह सम्मको ज्ञानको भोक तीब्र रुपमा जागेको थियो । पशुपतिको जात्रा सिद्राको व्यापर भनेझैं यता कलेजको अभ्यास मूलक कक्षाको लागी वृत्रचित्र पनि बन्ने भयो उता त्यहाँ पुगे पछि सामुदायीक रेडियो संचालन सम्बन्धि कुराको सम्पूर्ण नालिवेली पनि थाहा पाउने मौका मिल्ने । रेडियो पालुङका बारेमा त्यसै केहि महिना अगाडि मात्र आँखिझ्याल टेलिभिजन कार्यक्रममा मैले छोटो भिडियो रिपोर्ट हेरेको थिए ।
त्यसको केहि दिनमा वृत्तचित्र निर्माणको प्रारम्भीक खाका सरलाई बुझाए पछि उहाँ पूर्ण रुपले मेरो योजनामा सहमत हुनुभयो पनि । अन्तत हामी चार जना सहपाठि साथीहरु मिलेर वृत्तचित्र बनाउने र त्यसका लागी आवश्यक लगानी पनि सबैजना मिलेर गर्ने सहमति जुट्यो । अनि त्यसको एक हप्ता पछि हामी पालुङ पुग्यौ र केहि दिन त्यहि बसेर वृत्तचित्र छायांकनमा खटियौ । पालुङ पुगेर सर्वप्रथम हामीले त्यहाँका स्टेसन प्रमुख शम्भु सिह कार्कीलाई भट्यौ उहाँले हामी त्यहाँ रहेका बखत कत्ति पनि झिझो नमानि रेडियो स्थापना काल देखि संचालनमा आउँदा सम्मका आफ्ना तीता मिठा अनुभुतिहरु सुनाउँनु भयो । उहाँका ती अनुभुतिहरु मेरा हर्मीको सेरोफेरो प्रकाशनका दौरानमा म सँगै गाँसिएका केहि अनुभुतिहरु सँग ठयाक्कै मेल खाने खालका पनि थिए । ती कुराले मलाई थप उत्प्रेरणा दिने र उर्जा थप्ने काम गरे । हामीले पालुङ र आसपासका गाउँहरुमा छायांकन गरेर त्यहाँको समुदायमा रेडियोले पारेको प्रभावका बारेमा तल्लो तह सम्मका मनहरु पनि छाम्न पायौ । त्यसले झन् मनमा हुटहुरी जगायो । यत्तिकै गएर कुरा खोताल्नु र गफिनु भन्दा क्यामरा लिएर मान्छेहरुका अगाडि पुग्दा प्राप्त हुने विषयवस्तुको गहिराईको अन्तर कता हो कता । पालुङमा पुगेर वृत्तचित्र छायाङकन गरेर फर्किदा सम्म मलाई रेडियो स्थापना, संचालन र त्यस सँगै जोडिएर आउने चुनौतिहरुका बारेमा छलङ्ग भयो । अनि कहिले हर्मीमा पनि पालुङमा जस्तै रेडियो स्थापना गर्न सकिएला भन्ने लागि रह्यो । हामीले प्रयोगात्मक अभ्यासका लागि बनाएको समुदायको संचार साथी रेडियो पालुङ नामको वृत्तचित्र त्यति समग्रमा प्रभावकारी किसिमको त बन्न सकेन तर त्यस क्रममा सिकेका र बुझेका रेडियोका कुरा निकै फलदायी रहे । मेरो त्यो वृत्तचित्र निर्माणको अनुभवले पनि हामीले पहिले देखिनै हर्मीमा रेडियो स्थापना गर्न देखेको सपनामा रङ्ग भर्ने काम ग¥यो ।
त्यस पछिका केहि वर्ष रेडियोका बारेमा सपना बुन्दैमा बित्यो । जिल्ला सदरमुकाममा समेत कसैले रेडियोको सपना नदेखेका बखत ग्रामीण बस्ती हर्मीमा रेडियो बजाउने हाम्रो सपनालाई दिवा सपना सिवाय केहि होइन भनेर खिस्याउनेहरु पनि धेरै नै थिए । तर ती ओज विहिन कुरालाई हामीले एक कानले सुन्ने र अर्को कानले उडाउने काम ग¥यौ । हर्मी पुगेका बेला कहिले हर्मीकोट कहिले करेली थुम्को त कहिले नेवार डाडा र जिरायतका गह्राहरुमा पुगेर स्टेसन र टावरको सपना देख्यौं हामी । त्यही दौरानमा भएको एउटा घटनाले सम्झदा अहिले पनि भिन्न अनुभुति गराउँछ । एक दिन नेवार डाडा जहाँ अहिले रेडियो हर्मीको प्रसारण केन्द्र छ हो त्यहि बसेर हामी केहि युवा गफ गर्दै थियौ । हाम्रो कुराकानी मुख्य त रेडियो मै केन्द्रित थियो । त्यसै क्रममा बाटो हिडिराखेका हाम्रै गाउँका एक जना अग्रजले हाम्रो त्यो कुरो सुनेछन् र तत्कालै हाम्रो छेउमा आएर सोधिहाले के कुरा गर्दै छौ हो केटा हो ? अनि हामीले आफूहरुको रेडियो सपना सुनाउँदा उनले हामीलाई लोप्पा ख्वाएर रुखो वचन लगाएर त्यहाँबाट घपाए पनि । ती व्यक्ति हामीले रेडियो शुरु गर्दा गाउँमा त थिएनन् तर अर्को वर्ष विदेशबाट छुट्टिमा घर आउँदा मलाई अङ्गालो हालेर बधाइ दिएका थिए ।
अनि बल्ल जनता आफ्नै रेडियोमा बोल्न थाले
हामी जसरी पनि समुदायको अग्रसरता र सव्रिmय सहभागीतामा हर्मीमा सामुदायिक रेडियो स्थापना गरी छाड्ने ल्याउन्नमा थियौ । आफ्ना सम्पूर्ण संजाल र जमघटहरुमा रेडियोका बारेमा बनाएका अवधारणाहरु सुनाउने गथ्यौं पनि । त्यसै व्रmममा एक साँझ काठमाडौँमा बसेर विभिन्न सामाजिक संस्थाहरु मार्पmत सामाजिक काममा सव्रिmय हर्मीका अग्रज रमेश सापकोटा अङ्कलले बुवा (जनार्दन ढकाल)लाई फोन गर्नु भयो । जो उहाँका विद्यालय तहका सहपाठी पनि हुनुहुन्थ्यो । उहाँले टेलिफोन कुराकानीमा तपाईहरुको योजनाको सुइको पाए कुरा मिले सहयोग गर्ने साथिहरु हाम्रो सम्पर्कमा ह्ुन्छ भन्नु भएछ । उहाँको यस्तो सकारात्मक संकेतले हामी अझै उत्साहि भयौ । टेलिफोन कुराकानी भएको केही दिन पछि प्रत्यक्ष भेटेरै कुराकानीमा जुट्न हामी जाउलाखेलमा जम्मा भयौ । जावलाखेलको त्यो चिया पसलमा भएको जमघटमा रमेश अङ्कलका वुवा इश्वरी सापकोटा र हर्मीकै अर्का अग्रज रामहरि ढकाल पनि सरिक रहनुहुन्थ्यो । हामी त्यहाँ केही घण्टा दोहोरो कुराकानीमा जुट्यौ । त्यहाँको जमघटले रेडियो स्थापनाका लागि अघि बढ्ने केहि थप आधार बन्यो । जाउलाखेल जमघटबाट रमेश अङ्कलले रेडियोका लागि आवश्यक प्रशारण उपकरण जुटाउन सहयोग गर्ने र हामीले हर्मीको समुदायलाई सव्रिmयरुपमा संगठित गरेर रेडियो स्थापनाको आधारभूत परिस्थिति सृजना गर्ने जिम्वेवारी बोध गरि छुट्टियौँ ।
जावलाखेल जमघटको अर्को हप्ता नै बुवा हर्मी जानु भयो । त्यसको लगत्तै हर्मीमा आम भेला बोलाएर रेडियो स्थापना गर्नको लागि संगठित सामुदायिक संरचना तयार पार्न हर्मी सामुदायिक विकास तथा संचार केन्द्र नामको गैरसरकारी संस्था दर्ता गर्ने प्रव्रिmया अगाडि बढाउने काम भयो । यो अवस्था सम्म आइपुग्दा हर्मीमा रेडियो स्थापनाको यो अभियानमा हर्मीमै रहेर सामाजिक कार्य तथा शिक्षण पेशामा संलग्न अग्रज द्धय इश्वरी प्रसाद ढकाल र रामप्रसाद अधिकारी पनि जोडिइ सक्नु भएको थियो ।
हर्मी सामुदायिक विकास तथा सञ्चार केन्द्र मार्फत रेडियो स्थापना गर्ने सपना बोकेर हर्मी र काठमाडौँमा सव्रिmयताहरु बाक्लिन थालेको थियो । त्यो बेला सम्म गोरखा सदरमुकाममा रेडियो गोरखा एफ एम प्रशारणमा आएको केही वर्ष भइसकेको थियो । र अन्य केही रेडियोहरु प्रशारणको कानुनी प्रव्रिmयामा जुटेका थिए । यता काठमाडौँमा रमेश अङ्कल एचसिजेवि ग्लोवल नामक अन्र्तराष्ट्रिय गैरसकारी संस्थामा सहयोगको लागि पहल गर्दै हुनुहुन्थ्यो भने उता सिडियो कार्यालय गोरखामा हर्मी सामुदायिक विकास तथा सञ्चार केन्द्र संस्था दर्ताका लागि विधान तयार पारेर निवेदन दर्ता गर्ने काम हुदै थियो । तर अपसोच के भने गोरखाका तत्कालिन प्रभाव जिल्ला अधिकारीले हामीलाई सामुदायिक रेडियो स्थापना गर्ने र त्यो सँग मेल खाने अन्य उद्देश्यहरु मेटेर मात्र संस्था दर्ता गर्न दिने बताए । सोझो र कानुनि हिसाबको बाटोमा काम गर्ने हामीहरुले थप दोहलफसल गर्ने र गैरकानूनी हिसाबले काम गराउने चेष्टा गरेनौँ । त्यो बिचमा जिल्लामा पर्दा पछाडि के कस्ता खेलहरु भए र कसको निर्देशनमा प्रजिअ त्यो अडानमा रहिरहे त्यो कुरा समयले बताउँदै जाला । यसरी गहकिला र अर्थपूर्ण उद्देश्यहरु मेट्न लगाएर भए पनि हाम्रो संस्था त दर्ता गर्न पाइयो । तर महत्वपूर्ण उद्देश्यहरु समावेश हुन नसकेको त्यो संस्था मार्फत रेडियो प्रशारण इजाजत लिने हाम्रो सपना त्यसै तुहियो । र हामी बैकल्पिक बाटोको खोजिमा लाग्यौ । यसरी एउटा बाटोमा तगारो लागे पछि अर्को बाटोका बारेमा सोधखोज हुन थाल्यो । त्यसै व्रmममा हामी गैरनाफा मुलक मुनाफा वितरण नगर्ने पब्लिक ट्रष्ट दर्ता गेरेर त्यो संस्था मार्फत रेडियो संचालन गर्ने निष्कर्षमा पुग्यौँ । फल स्वरुप सामुदायिक रेडियो हर्मी पब्लिक पब्लिक ट्रष्टको रुपमा कम्पनि रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भयो । यस अगाडि सम्म नेपालका कुनै पनि रेडियोहरुले यो कानुनी बाटो अपनाएका थिएनन् । यो मानेमा नेपालमा पब्लिक ट्रष्ट मार्फत रेडियो संचालन गर्ने हामी नै पहिलो संस्था हौ ।
साँघुरो सोच बोकेर फोहरी खेलमा रमाउनेहरुको एउटा झुन्डको अवरोधले एउटा कानुनी बाटोमा तगारो लागे पनि अर्को बाटो अङ्गाल्ने हाम्रो निर्णयले सार्थकता पाउँदै गयो । रमेश अङ्कल मार्फत एचसिजेवि ग्लोवल का टाइ स्टेक्सलाई भेटेर थप कुराकानी र सहयोग लेनदेनका सवालमा कुराकानीहरु पनि भए । एचसिजेवि ग्लोवल बाट सहयोगको प्रतिबद्धता पाए पछि हामी प्रशारण इजाजतका लागि दौडधुप गर्न थाल्यौँ । यो बिचमा एचसिजेवि ग्लोवल का रेडियो प्लानेटर टाइलाई हर्मी पु¥याएर रेडियोको प्रशारण केन्द्र राख्न सकिने ठाउँहरुको सम्भाव्यता अध्ययन गर्ने काम भयो । जुन काममा रमेश अङ्कलको समन्वयकारी भूमिका महत्वपूर्ण रह्यो । करेली थुम्कोमा त्यो बेला नेपाली सेनाको बेश क्याम्प रहेको हुँदा अवलोकन गरिएका अन्य ठाउँहरु मध्ये रेडियो स्टेसन राख्नको लागी नेवार डाँडा नै उपयुक्त ठाउँ ठहरियो । नेवार डाडा नै उपयुक्त हुने ठाउँ ठहरिए पछि नेवार डाँडाँ बासी थप उत्साहित हुनुभयो । हाम्रो योजनाबाट प्रभावित भएर स्व. उमाकान्त ढकालले आफ्नो स्वामित्वमा रहेको नेवार डाँडाको ठूलो गह्रो रेडियोका लागि दान दिने घोषणा गर्नु भयो । उहाँ सँगै नेवार डाँडाका हरिबहादुर, भरत, शंकर, रामजी र मणिराम ढकालले रेडियो यहि राख्नु पर्छ बरु हामी त्यसका लागि जे गर्न पनि तयार छौँ भनेर निकै जोडवल गर्नु भयो ।
हर्मीमा ती गतिविधि जारी भइराखेका बखत काठमाडौँमा भने सञ्चार मन्त्रालयमा इजाजतका लागि झन्झटिलो कानुनि प्रव्रिmया अगाडि बढ्दै गयो । अनन्त २०६६ साल फागुन १९ गते सञ्चार मन्त्रालयले हामीलाई सामुदायिक रेडियो हर्मी प्रसारण गर्न इजाजत दियो । प्रशारण इजाजत पाएर मात्रै त्यसै रेडियो बज्ने वाला त थिएन । अन्य खाले तयारी र बन्दोवस्तीका कामहरु त अझै बाँकी नै थिए ।
प्रशारण इजाजत पाएपछि रमेश अङ्कल मार्फत एचसिजेवि ग्लोवलसँग कुराककानी गरेर टान्समिटर, एन्टेना, मिक्चर, कम्प्युटर लगायत केही समाग्री सहयोग माग्ने काम भयो । अनि अन्य सामान र भौतिक संरचनाको चाँजोपाँजो रेडियो आफैँले मिलाउने काम अगाडि बढ्यो । हरेक कामको सुरुवातका लागि सुरुमा पैसा नै आवश्यक पर्ने हुँदा सर्वप्रथम रेडियोको आजिवन सदस्यता वितरण गरेर आर्थिक संकलनको काम अगाडि बढ्यो । स्थानिय किसान, महिला समाजसेवी, बुद्धिजीवि लगायतका समाजका सबै वर्ग र विशेष गरी हर्मी आसपासका सामाजिक संस्थाहरुले पनि आजिवन सदस्यता लिएर रेडियोमा भिन्न भिन्न समुदायको स्वमित्व कायम गर्न मद्धत पु¥याए । यसरी संस्थागत सदस्यता लिने संस्थाहरुमा रिप तथा पात्ले सामुदायिक वन उपभोक्ता समिति, जनज्योति महिला समुह, लाली गुँरास महिला समूह , नमुना कृषि अन्नवाली समुह, म.ली.उ.मा.वि. आँपपिपल अस्पताल, हर्मी गाउँ विकास समिति अस्पताल लगायतका थिए । हर्मी जस्तै काठमाडौँमा पनि सदस्यता वितरणको काम भयो र हर्मीमा जस्तै उत्साहजनक सहभागीता पनि । र यहि बीचमा नेवार डाँडामा प्राशारण केन्द्र स्थापनार्थ स्थानिय साधन स्रोतको प्रयोग गरि चार कोठे घर बनाउने काम पनि पुरा भयो ।
काठमाडौँमा सबै कानुनी प्रव्रिmया पुरा गरेर एचसिजेवि ग्लोवल मार्फत आउने सामान भन्सार पास गराउने काम पनि अघि बढ्यो । अनि टावर निमार्णको ठेक्का पनि दिइयो । एचसिजेवि ग्लोवल का रेडियो प्लानेटर टाइ स्टेक्स २०६६ असार १ गते हर्मी आउने योजना सुने पछि सबै तयारीहरु तीब्र रुपमा अघि बढ्यो । रेडियो प्रशारणका लागि आवश्यक तयारीहरु गर्न केही हप्ता अघि म हर्मी पुगी सकेको थिए । अन्नत प्रशारणका लागि आवश्यक सम्पूर्ण सामानहरु लिएर टाइ, रमेश अङ्कल र बुवा हर्मी झर्नु भयो । त्यो दिन हर्मीको सिंगो समुदाय उहाँहरुको स्वागतमा जुटेको थियो । हर्मी भित्रिएको दिन देखिनै टाइले रेडियोका विविध प्राविधिक तथा व्यवहारिक पक्षका बारेमा जानकारी गराउँदै हामीलाई थप हौसला दिँदै हुनुहुन्थ्यो । टाइ आएकै भोलिपल्ट हामीले किनेको टावर पनि हर्मी आई पुग्यो । टावर जडान गरे पछि त्यसमा एन्टेना जडान गर्ने काम भयो । अन्य आवश्यक तयारीहरु जारि रहेकै बेला स्टुडियो सम्म पनि बनि नसक्दै साधारण गाउँले कोठाबाट २०६७ असार ५ गते बेलुकी ४ बजे १०५.४ मेगाहर्जमा सामुदायिक रेडियो हर्मीको प्रशारण आरम्भ भयो । प्रसारण शुरु गर्दा हामीले शुरुमा राष्ट्रिय गान र त्यस पछि केही स्वदेश गानहरु बजाएका थियौँ ।
रेडियो हर्मी , आम संचार शिक्षा र महेन्द्र लीला
यसरी असार ५ गतेबाट बिहान, दिउँसो साँझ गरी दैनिक ६ घण्टा रेडियो बज्न त थाल्यो तर रेडियो बजाइ सक्दा समेत हामीले गर्नुृ पर्ने थुप्रै कामहरु बाँकी नै थिए । अरु रेडियोहरुको शुरुवाति पृष्ठभूमि र हाम्रो पृष्ठभूमी निकै बेग्लै थियो । हामीले पहिले नै अरुले भन्दा भिन्न ढाँचा र शैलिमा रेडियो चलाउने सोच बनाएका थियौँ । अरुले रेडियो बजाउनु भन्दा पहिले नै आवश्यक जनशक्ति तयार गरेर रेडियो बजाउन शुरु गर्थे भने हामीले चाहि पहिले रेडियो बजाउन शुरु गरे पछि मात्रै जनशक्ति तयार गर्ने भयौ । रेडियो संचालन गर्न प्रथम त सक्षम जनशक्ति नै आवश्यक पर्ने भएकाले हामीले असार महिनाको तेस्रो हप्ताबाट आधारभूत प्राविधिक तथा रेडियो पत्रकारिता तालिम रेडियोको प्रशारण केन्द्रमा नै संचालन गयौँ । एक महिनासम्म संचालित तालिमको संयोजन र सहजकर्ताको काम मैले नै गरे । प्रविधि, संचार र पत्रकारिताको कति पनि ज्ञान र सिप नभएकालहरुलाई हामीले रेडियोमा नै प्रत्यक्ष अभ्यास गराउँदै काम गर्न सक्ने बनायौँ । सो तालिममा समाजका भिन्न भिन्न वर्गका करिब पाँच दर्जन प्रशिक्षार्थीहरु सहभागी थिए । ती मध्ये लगभग एक दर्जन त अहिले हामी सँगै सहयात्रा गर्दै छन् भने कतिपय चाहिँ रेडियो हर्मीमा तालिम लिएर शहरका अन्य रेडियोहरुमा काम गरिरहेका छन् । रेडियोको स्थापना कालमा कतिले न्युन पारिश्रमिक त कतिले स्वयम्सेवकको रुपमा रेडियोलाई अगाडी बढाउन खेल्नु भएको भूमिका एकदमै सह्रायिन छ । रेडियो हर्मीले हालसम्म आफुलाई आवश्यक पर्ने जनशक्ति आफैँ तयार पार्दै आाइरहेको छ । स्थानिय युवाहरुलाई प्रविधि सँग खेल्दै सिक्दै काम गर्ने माहौल रेडियोले सिर्जना गरिदिएको छ ।
हर्मीलाई एउटा गतिलो सञ्चार अध्ययन र अभ्यास केन्द्र बनाउने हाम्रो पहिले देखिकै सोच थियो । रेडियोको स्थापनाले त झन् त्यो सोचमा नयाँ आयाम थप्यो । तर हामी यतिले मात्रै चित्त बुझाउने वाला थिएनौ । हाम्रो त्यो फरक सोचलाई अझ प्रभावकारी किसिमले अगािड बढाउन रेडियोको आजीवन सदस्य समेत रहेको महेन्द्र लीला उच्च मा.वि. समक्ष हामीले उच्च मा.वि. तहमा पत्रकारिता तथा आम सञ्चार विषयको पठन पाठन शुरु गर्नको लागि प्रस्ताव ग¥यौ ।
महेन्द्र लीला उच्च माध्यमिक विद्यालयले हामीले राखेको प्रस्ताव सहजै स्वीकार ग¥यो पनि । अनि शैक्षिक सत्र २०६८ देखि सामुदायिक रेडियो हर्मी र महेन्द्र लीला उच्च मा.विको सहकार्यमा हर्मीमा पत्रकारिता तथा आम संचार विषयको पढाइ शुरु भयो । गोरखा जिल्लामा त्यो भन्दा अघिल्लो वर्ष द्रव्यशाह क्याम्सले यो विषयको पढाइ शुरु गरेको थियो । यो अर्थमा महेन्द्र लीला गोरखाका सामुदायिक विद्यालय मध्ये शुरुमा आमसञ्चार विषय भित्रयाउने विद्यायलको रुपमा इतिहास बनाउन सफल भयो । शुरुको वर्षमै आम संचार तथा पत्रकारिता विषयमा विद्यार्थीको आकषर्ण र उत्सुकता अत्याधिक रह्रयो । हाल महेन्द्र लीलामा आम संचार तथा पत्रकारिता विषय पढ्ने पहिलो ब्याजका एक दर्जन भाइ बहिनीहरु सामुदायिक रेडियो हर्मीमा काम गर्दै पढ्दै पनि छन् भने दोस्रो ब्याजका विद्यार्थीहरु आधारभूत ज्ञान प्राप्ति र सिप विकासमा लागि परेका छन् ।
रेडियोलाई आत्मनिर्भर बनाउन हामीले शुरु गरेका अन्य धेरै अभियानहरु मध्येको यो एउटा शाखा अभियान मात्र हो । यस्तै सामुदायिक संस्था र रेडियोको सहकार्यमा हर्मीमा अन्य धेरै कामहरु भैराखेका छन् र केही हुने व्रmममा पनि छन् । रेडियोमा आवश्यक जनशक्ति तयार गर्ने हामीले संचालन गरेको यस्तो सहकार्यले एकातिर रेडियोले आवश्यक जनशक्ति पाएको छ भने आफ्नै ठाउँमा बसेर युवाहरुले प्राविधिक र संचारका अनेकन ज्ञान र सिप सिकेर आफ्नो क्षमता अभिबृद्धि गर्ने मौका पाएका छन् । यो मानेमा यी दुई सामुदायिक संस्थाको सहकार्यले हर्मी सम्पूर्ण युवा पुस्ताका लागि सञ्चार र प्रविधि पढ्ने खुल्ला पाठशाला बन्न पुगेको छ ।
.......
हामी हर्मीको सिंगो समुदाय पुग नपुग एक दशक यता हर्मीमा थुप्रै प्रयोगात्मक सामुदायिक संचारको अभ्यासमा जुटेका छौ । जहाँ यो संचार सपनालाई इतिहास बनाउने अभियानमा साथ समर्थन र उत्साह जनक सहभागिता छ असख्य हर्मेली मनहरुको । त्यस काममा होस्टेमा हैसे गर्ने बाहिरि दुनियाँका सहयोगी हातले त झन् सुनमा सुगन्ध थपेको छ । सबैको सहभागीता बिना न त कुनै सामाजिक कामको आरम्भ गर्न सकिन्छ न त त्यसलाई सार्थक तुल्याउन गरिने प्रयासहरु नै सफल हुन सक्छन् । यो अर्थमा हामी घमण्ड गरैरै सन्तुष्ट छौ भन्न सक्छौ हामीले आफ्ना सपना सजाएर बनाएको हर्मीको संचार इतिहास प्रति । त्यसैले त हामी सबै हर्मीमा फुलेका संचार सपनालाई इतिहास बनाउन एकै साथ हातमा हात र काँधमा काँध मिलाएर हेलिएका छौ यो महान अभियानमा । र त हामीलाई जनदिप ,हर्मीको सेरोफेरो ,सखासखी, आवर हर्मी ब्लग र सामुदायिक रेडियो हर्मीको इतिहास बनाउन पाउँदा गर्व लाग्छ ।
No comments:
Post a Comment